इटहरीस्थित किवानिस क्लबले भोजपुर याङपाङका ३६ विद्यार्थीलाई लत्ता कपडा र शैक्षिक सामग्री प्रदान गरेको छ ।
जिल्लाको अरुण गाउँपालिकास्थित कोशी आधारभूत विद्यालयका बालबालिकालाई क्लबले विद्यालय पोशाक, ट्र्याकसुट, जुत्ता, मोजा, टोपी र न्यानो कपडासहित एक वर्षसम्म पुग्ने शैक्षिक सामग्रीहरु प्रदान गरेको क्लबकी अध्यक्ष मनिता तामाङले जानकारी दिइन् ।
क्लबले सुरु गरेको सहयोग अभियानमा सहयोगी संस्थाको रुपमा इटहरीस्थित डाँफे एजुकेशन प्रालि र इक्यान पूर्वाञ्चल रहेको उपाध्यक्ष श्रद्धा छेत्रीले जानकारी दिइन् ।
अन्य सहयोगीहरुमा अनिल सुब्बा, किट्स हाउस इटहरी, सूर्य राई बम, सुन्दर लावती रहेका छन् । उनीहरुले आर्थिक सहयोग गरेका हुन् ।
क्लबले आगामी दिनमा स्वास्थ्य शिविर लगायतका सामाजिक काम गर्ने योजना बनाएको अध्यक्ष तामाङले बताइन् ।