धरान । धरानको मुख्य चोक भानुचोकमा ट्राफिक व्यवस्थापन गर्नका लागि मङ्गलबारबाट ‘हेल्प डेस्क’ स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

भानुचौकमा बसपार्कसमेत रहेकाले यात्रु तान्नेजस्ता प्रवृत्तिहरूलाई अन्त्य गर्नका लागि हेल्प डेस्क राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको अगुवाइमा डेस्क स्थापना गरिएको हो । यसका लागि वडा प्रहरी कार्यालय, धरान उपमहानगरपालिका २ नम्बर वडा कार्यालय, नगर प्रहरी र यातायात व्यवसायीहरूले डेस्कका लागि समन्वय गर्ने भएको ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुभाष केसीले जानकारी दिए ।

विशेषगरी यस क्षेत्रमा यात्रुलाई तान्नेलगायतका समस्याका कारण यात्रुका झोलाहरू हराउने समस्याहरू व्याप्त रहेको छ । यस्ता समस्यालाई निराकरण गर्नका लागि पनि हेल्प डेस्क स्थापना गरी मङ्गलबारबाटै व्यवस्थापन सुरु गरिएको छ । अबका दिनमा जथाभावी रूपमा यात्रु तानातान गर्नेलगायतका विकृति फैलाएमा त्यस्ता व्यक्तिहरूलाई नियन्त्रणमा लिई कारबाही पनि चलाइने इन्स्पेक्टर केसीले जानकारी दिए ।