वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–२ स्थित हात्ती प्रभावित रेल्वेलाइन र पुनर्वास जोड्ने जङ्गलनजिक बाटोको ट्रयाक खोल्न सुरु गरेको छ ।

बुधबार नगरप्रमुख रमेश कार्कीले पुनर्वासको शान्ति चौकदेखि रेल्वेलाइनको सगरमाथा युवा क्लबसम्मको करिब डेढ किलोमिटर बाटो खोल्ने कार्यको सुरुवात गरे । रेल्वेलाइन सडकको पूर्व दिशातर्फको जङ्गलसँगै रहेको हात्ती प्रभावित सो क्षेत्रमा विशेष गरेर निरन्तर आइरहने हात्ती व्यवस्थापनको लागि दमकल र एम्बुलेन्सलगायत आवश्यक साधनको सहजता र आवादी सीमाङ्कनको लागि ट्रयाक खोलिन लागेको नयाँ बाटो निर्माण समितिका सचिव शान्तिराम खतिवडाले बताए ।

३० फिट चौडा बाटोका लागि आवश्यक जेसिभीलगायत सम्पूर्ण आर्थिक र भौतिक सहयोग वराहक्षेत्र नगरपालिकाले उपलब्ध गराएको सचिव खतिवडाले जानकारी दिए ।