विजयपुर । एलाइनेट जिमको आयोजनामा २०८० चैत २३ र २४ गते पाँचौँ मिस्टर कोशी बडीबिल्डिङ च्याम्पियनसिप हुने भएको छ ।

बुधबार एलाइनेट जिमले पत्रकार सम्मेलन गरी २१ औँ प्रस्तुतिको रूपमा पाँचौँ मिस्टर कोशी आयोजना हुन लागेको जानकारी दिएको छ । प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजी गरी कुल पाँच तौल समूहका करिब ५० प्रतिस्पर्धीहरूले सहभागिता जनाउनेछन् ।

प्रत्येक तौल समूहका विजेताले उपाधिका लागि फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल चरणका विजेता पाँचौँ मिस्टर कोशीको उपाधि विजेता घोषित हुने आयोजक एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्बूले बताए । प्रतियोगिताको विजेताले एक लाख १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ । यस्तै दोस्रोले ५० हजार, तेस्रोले ३५ हजार, चौथोले २५ र पाँचौँले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताका विधागततर्फ बेस्ट पोजर, मोस्ट इम्प्रुभमेन्ट र मस्कुलर म्यान उपाधि विजेताले नगद ५ हजार, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछन् । प्रतियोगिता धरान–१३ अमरहाटस्थित सामुदायिक हलमा हुनेछ ।