विजयपुर । बसन्तपुरमा वैशाख १० गतेदेखि ‘लालीगुराँस महोत्सव’ आयोजना हुने भएको छ । प्रकृति र संस्कृतिको अनुपम संगम मानिने लालीगुराँस नगरपालिकामा सञ्चालन हुने महोत्सव वैशाख १४ गतेसम्म सञ्चालन हुनेछ ।

‘प्रकृति, संस्कृति र पहिचानको संगम’ भन्ने मूल नारासहित आयोजना हुन लागेको महोत्सवले विशेषगरी लालीगुराँस ट्रेल र स्थानीय पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । कोशी प्रदेश सरकार र लालीगुराँस नगरपालिकाको संयुक्त आयोजनामा हुने महोत्सवमा विविध पर्यटकीय आकर्षणहरू समेटिने आयोजकले जनाएको छ ।

महोत्सवअन्तर्गत वैशाख १२ गते बसन्तपुरस्थित चोःलुङ पार्कमा ‘चोःलुङ कविता गोष्ठी’को दोस्रो संस्करण आयोजना गरिनेछ । कार्यक्रममा उपेन्द्र सुब्बालगायत प्रख्यात कविहरूले आफ्ना रचना वाचन गर्नेछन् ।

साथै विभिन्न जातजातिको सांस्कृतिक नृत्य, साङ्गीतिक प्रस्तुति, स्थानीय उत्पादनको प्रदर्शनी तथा रैथाने खानाका परिकारहरू महोत्सवका मुख्य आकर्षण रहनेछन् । ‘प्रकृति संवाद’ कार्यक्रममार्फत लालीगुराँस संरक्षण र वातावरणीय विषयमा छलफल गरिनेछ ।

खेलकुदतर्फ लालीगुराँस ट्रेलमा दौड प्रतियोगिता गरिने भएको छ, जसले साहसिक पर्यटनलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । कोशी पर्यटन वर्ष २०८२ को अवसर पारेर आयोजना गरिएको महोत्सवले पदयात्रामा आधारित पर्यटन (ट्रेल बेस्ड टुरिजम) लाई प्राथमिकतामा राखेको छ ।

लालीगुराँस ढकमक्क फुल्ने याममा आयोजना भएको महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने विश्वास लिइएको छ । नगरपालिकाले स्थानीय कला, साहित्य र प्राकृतिक सम्पदाको विश्वव्यापी प्रचार–प्रसारमा टेवा पुग्ने अपेक्षा गर्दै सम्पूर्ण सरोकारवालालाई सहभागिताका लागि आह्वान गरेको छ ।