धरान । नेपालमा औलोका स्थानीय सङ्क्रमित घट्दै गए पनि विदेशबाट आउने आयातित बिरामीको सङ्ख्या उल्लेखनीय रूपमा बढिरहेको तथ्य सार्वजनिक भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा ३९ जना स्थानीय औलोका बिरामी भेटिँदा एक हजार १ सय २५ जना आयातित सङ्क्रमणका केस पुष्टि भएका छन् ।

शनिबार विश्व औलो दिवसका अवसरमा ‘औलो अन्त्य हाम्रो सङ्कल्पः सक्षम छौँ, छैन अब विकल्प’ भन्ने नारासहित आयोजित कार्यक्रममा महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले नेपालमा औलो नियन्त्रणमा उल्लेखनीय प्रगति भएको बताए । उनका अनुसार पछिल्लो १० वर्षमा स्थानीय औलो सङ्क्रमण करिब ९० प्रतिशतले घटेको छ । तथापि, भारतका उच्च जोखिम क्षेत्र तथा अफ्रिकी मुलुकबाट फर्किने नेपालीहरूका कारण आयातित सङ्क्रमण बढ्दै गएको चिन्ता व्यक्त गरिएको छ ।

डा. दाहालका अनुसार नेपालमा हाल देखिएका कुल औलो सङ्क्रमितमध्ये करिब ९७ प्रतिशत विदेशबाट आएको सङ्क्रमण हो । अघिल्ला वर्षहरूको तथ्याङ्कले पनि यही प्रवृत्ति देखाउँछ । आर्थिक वर्ष २०८०/०८१ मा २४ स्थानीय र ७ सय ६७ आयातित तथा २०७९/०८० मा २४ स्थानीय र ५ सय ९ आयातित बिरामी भेटिएका थिए ।

औलो एनोफिलिज जातका सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने परजीवीजन्य रोग हो, जसले समयमै उपचार नपाए ज्यानै जोखिममा पार्न सक्छ । विशेषगरी शिशु, पाँच वर्षमुनिका बालबालिका, गर्भवती महिला, किशोरी तथा एचआईभी/एड्स सङ्क्रमित व्यक्तिहरू उच्च जोखिममा पर्ने चिकित्सकहरू बताउँछन् ।

यस रोगका प्रमुख लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, अत्यधिक थकान महसुस हुने, भ्रमित अवस्था, बेहोस हुने र सास फेर्न गाह्रो हुने समावेश छन् । स्वास्थ्यकर्मीहरूले यस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य परीक्षण र उपचार गर्न आग्रह गरेका छन् ।

हाल नेपालका ४२ वटा वडा मात्र औलोको उच्च जोखिममा रहेका छन् । सरकारले राष्ट्रिय औलो रणनीतिक योजना (२०२५–२०३०) लागू गर्दै सन् २०२६ सम्म स्थानीय औलो सङ्क्रमण शून्यमा झार्ने लक्ष्य लिएको छ ।

विश्वव्यापीरूपमा पनि औलो नियन्त्रणमा प्रगति देखिएको छ । सन् २००० मा १ सय ८ देशमा फैलिएको यो रोग सन् २०२४ सम्म ८० देशमा सीमित भएको छ भने ४७ देश औलोमुक्त भइसकेका छन् । तर अझै पनि विश्वका कुल औलो सङ्क्रमितमध्ये ९५ प्रतिशत अफ्रिकी क्षेत्रमा केन्द्रित छन्, जसले यो रोग विश्व स्वास्थ्यका लागि चुनौतीकै रूपमा रहेको देखाउँछ ।

स्वास्थ्य विज्ञहरूले सीमा नाकाहरूमा निगरानी, विदेशबाट फर्किने व्यक्तिहरूको परीक्षण तथा जनचेतना अभिवृद्धि गर्नसके नेपालले औलोमुक्त लक्ष्य हासिल गर्न सक्ने विश्वास व्यक्त गरेका छन् ।