विजयपुर । धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघा धरानका विभिन्न विकास योजना तथा कार्यक्रमका लागि संघीय सरकारसमक्ष पुगेका छन् ।

संघीय सरकारको बजेट निर्माणको पूर्वसन्ध्यामा पुगेका कार्यवाहक नगर प्रमुख बेघासहितको टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टसँग भेट गरी धरानका लागि आवश्यक योजना तथा कार्यक्रम समेटिएको मागपत्र पेश गरेको छ । भेटमा धरान खानेपानी योजना, दीर्घकालीन विकास, पूर्वाधार विस्तार तथा नगरको प्राथमिकतामा रहेका योजनाहरूको माग गरिएको छ ।

कार्यवाहक नगर प्रमुख बेघाले खानेपानी मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीसँग भेट गरेर छलफल गरेका छन् । भेटका क्रममा धरानको खानेपानी समस्या समाधान, पूर्वाधार विकास तथा मन्त्रालयअन्तर्गत सञ्चालन गर्न सकिने योजना तथा कार्यक्रम माग गरिएको जनाइएको छ । धरान उपमहानगरले नगरको आवश्यकता र स्थानीय जनताका मागलाई मध्यनजर गर्दै संघीय सरकारसँग माग गर्न गएको बताइएको छ ।