विजयपुर । चौथो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा बिराट भेट्रान बिराटचौक विजयी भएको छ ।
आइतबार सम्पन्न भरौल भेट्रान फुटबल क्लब र बिराट भेट्रान बिराटचौकबीचको खेलमा भरौल भेट्रान्सका भोला सेन ठकुरीले पहिलो हाफमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको केही समयपछि बिराट भेट्रान्सका प्रकाश थापाले गोल फर्काउँदै खेल बराबरीमा ल्याए ।
पहिलो हाफको २४औं मिनेटमा पुनः प्रकाश थापाले दोस्रो गोल गर्दै बिराट भेट्रानलाई २–१ को अग्रता दिलाए । पहिलो हाफको अन्त्यतिर डेनि राईले अर्को गोल थपेपछि बिराट भेट्रान्स ३–१ ले अघि बढेको थियो । दोस्रो हाफको अन्तिम समयमा देउमान लिम्बूले थप एक गोल गरेपछि बिराट भेट्रानले ४–१ को अन्तरले जित हात पारेको हो ।
खेलको ‘प्लेयर अफ द म्याच’ बिराट भेट्रान्सका जर्सी नम्बर १४ का प्रकाश थापा घोषित भए । उनलाई पूर्व राष्ट्रिय खेलाडी इन्दु रसाइलीले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिताअन्तर्गत सोमबार हुने तेस्रो क्वाटरफाइनल खेलमा आयोजक हाम्रो धरान भेट्रान्स सुनसरी र बेलका भेट्रान्स उदयपुरबीच प्रतिस्पर्धा हुनेछ ।