धनकुटा । धनकुटामा जारी सहिद भीमनारायण गोल्डकपमा आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानले सेमिफाइनल यात्रा तय गरेको छ ।
धनकुटाको तल्लो टुँडिखेलमा सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा आयोजकले भारतको जर्जियन फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्यो । खेलको सुरुवात भने आयोजकका लागि सहज थिएन। १६औँ मिनेटमा जर्जियन फुटबल क्लबका कुञ्जमान थापाले गोल गर्दै टोलीलाई अग्रता दिलाएपछि आयोजक दबाबमा परेको थियो।
तर घरेलु समर्थकको साथ पाएको आयोजकले पुनरागमन गर्यो । खेलको ३४औँ मिनेटमा प्रतिस थापा मगरले बराबरी गोल गर्दै खेललाई नयाँ मोडमा पुर्याए । दोस्रो हाफमा आयोजकले खेल नियन्त्रणमा लिन सफल भयो। ५६औँ मिनेटमा विपिन जबेगुले निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाए र अन्ततः त्यही गोल जितको आधार बन्यो।
जर्जियन फुटबल क्लबले खेलभर केही राम्रो अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो। खेलको अन्तिम समयमा टोलीको निराशा अनुशासनमा पनि देखियो। खेलको ९० औँ मिनेटमा जर्जियनका प्रवेश रोयले मुख्य रेफ्री मनीष अधिकारीमाथि असन्तुष्टि जनाउँदै हात हालेपछि रातो कार्ड पाए र टोली १० खेलाडीमा सीमित बन्यो।
प्रतियोगितामा प्रतिस्पर्धा जति तीव्र हुँदै गएको छ, खेल अनुशासन पनि उत्तिकै महत्ववपूर्ण देखिएको छ । निर्णायक समयमा संयमता गुमाउँदा नतिजामा असर पर्ने उदाहरण मंगलबारको खेल बनेको छ। खेलको म्यान अफ द म्याच आयोजकका विशाल भण्डारी घोषित भए। उनले नगद ६ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
अब बुधबार पहिलो चरणको अन्तिम खेलमा बेलबारी फुटबल क्लब मोरङ र सातदोबाटो फुटबल क्लब ललितपुरबीच आमनेसामुने हुनेछ। यसअघि सिराहाको सलहेश फुटबल क्लब र झापाको विर्तामोड युनाइटेड क्लबले सेमिफाइनल यात्रा तय गरिसकेका छन् । जेठ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ।