विराटनगर । विराटनगरमा जारी छैटौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली लालीगुराँस स्पोर्टिङ क्लब रानी सेमिफाइनलमा प्रवेश गरेको छ ।
विराटनगर जुटमिलको खेल मैदानमा मङ्गलबार भएको अन्तिम क्वार्टर फाइनलमा सुनसरीको इनरुवा फुटबल क्लबलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै लालीगुराँसले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । लालीगुराँसको एकपक्षीय जितमा सञ्जय लिम्बू र पूजन चौधरीले समान २–२ गोल गरे भने असिम राईको नाममा एक गोल रह्यो । इनरुवाका लागि मनी मगरले एक गोल फर्काए ।
प्रतिस्पर्धात्मक सुरुवात भएको खेलको २९ औँ मिनेटमा पूजन चौधरीले गोल गर्दै लालीगुराँसलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, त्यो अग्रता आठ मिनेटभन्दा बढी टिक्न सकेन । ३७ औँ मिनेटमा लालीगुराँसका खेलाडीले डिबक्सभित्र मनी गुरुङलाई लडाएपछि इनरुवाले पेनाल्टीको अवसर पायो, जसमा मनीले कुनै गल्ती नगरी खेललाई १–१ को बराबरीमा ल्याए ।
पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा लालीगुराँसले आक्रामक लय समात्यो । ५१ औँ मिनेटमा असिम राईले गोल गर्दै टोलीलाई २–१ को स्थितिमा पु¥याए । त्यसको दुई मिनेटमै सञ्जय लिम्बूले गोल गरेपछि लालीगुराँस ३–१ ले अघि बढ्यो ।
दोस्रो हाफमा इनरुवाको रक्षापङ्क्ति सम्हालिन नसक्दा ५५ औँ मिनेटमा पूजन चौधरीले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ४–१ बनाए । ६० औँ मिनेटमा सञ्जय लिम्बूले अर्को गोल थपेपछि लालीगुराँसको ५–१ को शानदार जित निश्चित भएको थियो । खेलको ‘प्लेयर अफ द म्याच’ दुई गोलकर्ता सञ्जय लिम्बू घोषित भए । उनले नगद २ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगिताअन्तर्गत आज (बुधबार)को पहिलो सेमिफाइनल खेल विराटनगरको टिडब्ल्युवाइसी फुटबल क्लब र उदयपुरको ब्रदरहुड फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।