विराटनगर । १६ औं संस्करणको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका लागि मोरङमा जिल्लास्तरीय छनोट खेल सुरु भएको छ ।
जिल्ला खेलकुद विकास समिति मोरङको आयोजनामा विराटनगरस्थित सहिद मैदानमा शुक्रबारदेखि प्रतियोगिता सुरु भएको हो ।
कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष वसन्त अर्यालले शुक्रबार एक समारोहबीच प्रतियोगिताको उद्घाटन गरे । दुई दिनसम्म चल्ने छनोट प्रतियोगिताबाट कुल ९४ खेलाडी र १२ अफिसियल गरी १०६ जना प्रदेश स्तरीय प्रतियोगिताका लागि छनोट हुने जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष इन्द्रकुमार योञ्जन तामाङले जानकारी दिए ।
अध्यक्ष तामाङका अनुसार छनोटमा ६ वटा खेल विधा समावेश छन् । जिल्लामा भलिबल, एथलेटिक्स, उसु, कराते, तेक्वान्दो र कबड्डी विधामा छनोट भइरहेको उनले बताए ।
प्रतियोगिताबाट भलिबलमा १८, एथलेटिक्समा २२, उसुमा १२, करातेमा १२, तेक्वान्दोमा १२ र कबड्डीमा १८ जना खेलाडी छनोट हुनेछन् । उनीहरूले प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्डमा मोरङको प्रतिनिधित्व गर्नेछन् ।