धनकुटा । १८ औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बेलबारी फुटबल क्लब मोरङले उचालेको छ । 

धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा शनिबार सम्पन्न प्रतियोगितामा आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले हराउँदै मोरङको बेलबारी फुटबल क्लबले उपाधि चुमेको हो । निर्धारित ९० मिनेटको समयमा दुवै टिमबाट गोल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा बेलबारीका विदेशी खेलाडी सोलुमान किङ, शिशिर लेखी, विदेशी खेलाडी मुतियु, विशाल थिङ र श्याम मुर्मुले गोल गरेका थिए भने विवेक पौडेलको प्रहार आयोजकका गोलकिपर विदेशी खेलाडी प्रिसुले रोकेका थिए ।

यस्तै आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानका विवेक गुरुङ, विदेशी खेलाडीहरू फेमी, ओलायामी ताइव र प्रिसोले गोल गरेका थिए भने राम वाजीको प्रहार बेलबारीमा गोलकिपर अजय परियारले रोकेका थिए । पृथ्वी चौधरीले पोष्टबाहिर प्रहार गरेका थिए । उपाधि विजेता बेलबारी फुटबल क्लबले नगद ६ लाख रुपैयाँ तथा गोल्डकप हात पा¥यो । उपविजेता बनेको आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानले नगद ३ लाख रुपैयाँमा चित्त बुझायो । 

यसैगरी भीमनारायण गोल्डकपको यो संस्करणको प्लेयर अफ टुर्नामेन्ट आयोजकका पदम भट्टराई घोषित भए । उनले नगद २५ हजार रुपैयाँ हात पारे । यस्तै प्रतियोगिताको बेस्ट गोलकिपर बेलबारीका अजय परियार, मिडफिल्डर आयोजक टीमका राम वाजी, बेस्ट डिफेन्डर बेलबारीका महेन्द्र कार्की, बेस्ट कोच बेलबारीका सुमन श्रेष्ठ, सर्वाधिक गोलकर्ता बेलबारीका सोलोमान किङ घोषित भए । उनीहरूले जनही नगद ११ हजार ५ रुपैयाँ पुरस्कार हात पारे ।

यस्तै प्रतियोगिताको उदयीमान खेलाडी आयोजकका प्रतीक थापा मगर घोषित हुँदै ६ हजार ६ सय ६६ रुपैयाँ नगद पुरस्कार हात पारे । यता फाइनल खेलको प्लेयर अफ दी म्याच बेलबारीका विवेक पौडेल घोषित भए । उनले नगद छ हजार रुपैयाँ पुरस्कार हात पारे ।

आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानले बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा सिरहाको सलहेश फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो । यसैगरी बेलबारी फुटबल क्लब मोरङले शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा उपाधिको दाबेदार मानिएको बिर्तामोड युनाइटेड क्लब झापालाई ३–० गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो । खेलपछि आयोजित समारोहमा विजेता र उपविजेता टोली तथा विधागत उत्कृष्ट खेलाडीलाई धनकुटा नगरपालिकामा प्रमुख चिन्तन तामाङले गोल्डकप, नगद तथा प्रमाणपत्र प्रदान गरे ।