विजयपुर । सुनसरीको धरानस्थित मेघा हिमालयन कलेजले कक्षा–११ मा भर्ना भएका विज्ञान (साइन्स) संकायका नवआगन्तुक विद्यार्थीहरूलाई मोरङको बेतना सिमसार क्षेत्रमा अध्ययन तथा अवलोकन भ्रमण गराएको छ ।
शनिबार विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा सीमित ज्ञानलाई व्यावहारिक अनुभवसँग जोड्ने उद्देश्यले आयोजित भ्रमणमा सिमसार क्षेत्रका जैविक विविधता, वनस्पति तथा वातावरणीय महत्त्वबारे प्रत्यक्ष अध्ययन गराइएको हो ।
कलेजका शैक्षिक निर्देशक अर्जुन घिमिरेले अवलोकन भ्रमणको सुरुवातमा विद्यार्थीहरूलाई सिमसार क्षेत्रमा अध्ययन गर्नुपर्ने विषयवस्तु तथा अवलोकनका मुख्य पक्षबारे अभिमुखीकरण गराएका थिए । उनले भ्रमणपछि विद्यार्थीहरूले अवलोकनका आधारमा परियोजना (प्रोजेक्ट) कार्य तयार गरी सम्बन्धित शिक्षकलाई बुझाउनुपर्ने जानकारी दिए ।
बेतना सिमसारका कर्मचारी प्रमुख धनबहादुर राईले ‘बेत’ प्रजातिको वनस्पति पहिले प्रशस्त पाइने भएकाले यस क्षेत्रको नाम ‘बेतना’ रहन गएको जानकारी गराए । उनका अनुसार बेतना सिमसार करिब १ सय ७५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यहाँ रहेका ६ वटा पैनी मार्फत करिब १२ सय बिघा जमिनमा सिँचाइ सुविधा पुगेको छ ।
राईले सिमसार क्षेत्रमा १ सयदेखि १ सय ५० प्रजातिसम्मका पुतली, विभिन्न जलचर तथा वन्यजन्तु पाइने जानकारी दिए । उनले साइबेरिया लगायत उत्तरी क्षेत्रबाट बसाइँ सरेर आउने चराहरू कार्तिकको दोस्रो सातादेखि फागुनको दोस्रो सातासम्म बेतनामा बस्ने गरेको उल्लेख गर्दै मौसम अनुकूलताका कारण ती चराहरू नेपाल आउने गरेको बताए ।
त्यसैगरी, सिमसार क्षेत्रमा ६ प्रजातिका कछुवा पाइने तथ्य लामो अनुसन्धानपछि झापाका डा. आर.के. खम्बुले पत्ता लगाएको जानकारी पनि विद्यार्थीहरूलाई दिइएको थियो ।
अवलोकनका क्रममा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए । भ्रमणपछि छात्राहरू खुसी लिम्बू, स्टेला श्रेष्ठ र एसा लिम्बूले पुस्तकमा अध्ययन गरिएका विषयवस्तुलाई प्रत्यक्ष रूपमा अवलोकन गर्न पाउँदा सिकाइ अझ प्रभावकारी बनेको प्रतिक्रिया दिए ।
अध्ययन भ्रमणमा कलेजका प्रिन्सिपल भास्कर पौडेल, दीपक घिमिरे, राजेश विद्रोही, नवराज दाहाल, जीवन न्यौपाने लगायत शिक्षक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।
कलेजका अनुसार यस्ता अध्ययन भ्रमणले विद्यार्थीहरूमा अनुसन्धानमूलक सोच, वातावरणीय चेतना तथा व्यावहारिक ज्ञान अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।