विराटनगर । नेपाली काङ्ग्रेसको संस्थापन इतर पक्षले आइतबार विराटनगरमा बृहत् प्रादेशिक भेला गर्ने भएको छ ।
पार्टीभित्र दबाव सिर्जना गर्ने र १४ औँ महाधिवेशनपछि देखिएका साङ्गठनिक कमजोरीलाई सच्याउन माग गर्दै यो समूहले शक्ति प्रदर्शन गर्न लागेको हो ।
शनिबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गर्दै इतर समूहले आइतबार बिहान ११ बजे हुने भेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । कोशी प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईका अनुसार उक्त भेलालाई सम्बोधन गर्न पार्टीका शीर्ष नेताहरू डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला र विजयकुमार गच्छदार एउटै मञ्चमा उपस्थित हुनेछन् । भेलामा कोशी प्रदेशका १४ वटै जिल्लाका अगुवा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहने बताइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री भूपेन्द्र राईले पार्टी अहिले विभिन्न गुट र उपगुटमा विभाजित भएको भन्दै नेतृत्वले आम कार्यकर्ताको भावना बुझ्न नसकेको आरोप लगाए । उनले भने, “हामीले कुनै व्यक्ति वा गुटको स्वार्थका लागि यो भेला गरेका होइनौँ । कोइराला, देउवा वा सिटौला समूहभन्दा माथि उठेर काङ्ग्रेसलाई पूर्णरूपमा एकताबद्ध बनाउन हामी दबाव समूहका रूपमा प्रस्तुत भएका हौँ । नेतृत्वले अब समयमै पार्टीका समस्या समाधान गर्ने साहस देखाउनुपर्छ ।”
सोही अवसरमा इतर समूहका नेताहरूले हाल पार्टीभित्र भइरहेको क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियाप्रति कडा आपत्ति जनाएका छन् । पूर्व मुख्यमन्त्री केदार कार्कीले महामन्त्री गगन थापा नेतृत्वको गुटले महाधिवेशनको मिति पटक–पटक सारेर कार्यकर्तामा अन्योल सिर्जना गरेको दाबी गरे ।
कार्कीले अहिलेको सदस्यता अद्यावधिक प्रक्रिया प्राविधिक र नीतिगत रूपमा गलत भएको बताउँदै यसले पार्टीको छविमा धक्का पुग्ने उल्लेख गरे । “अहिलेको प्रक्रियाले हिजो काङ्ग्रेसविरुद्ध बागी उम्मेदवार बनेका वा अन्य चुनाव चिह्न लिएर चुनाव लडेकाहरूलाई समेत सजिलै पार्टीभित्र हुल्ने काम गरेको छ । यस्तो प्रक्रियाले सच्चा र पुराना कार्यकर्ताको अपमान हुन्छ” कार्कीले भने, “यसले १५ औँ महाधिवेशन नै भाँड्न खोजेको देखिन्छ ।”
पत्रकार सम्मेलनमा विराटनगर महानगरपालिकाका मेयर एवम् मोरङ काङ्ग्रेसका उपसभापति नागेश कोइराला, विराटनगर सभापति दीपक चापागाईंलगायतका स्थानीय नेताहरूको उपस्थिति रहेको थियो । उनीहरूले पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउन र नेतृत्वलाई जवाफदेही बनाउन भेला कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।