विजयपुर । जिल्ला प्रहरी कार्यालय सुनसरीले विभिन्न मुद्दाका एघार फरार प्रतिवादी पक्राउ गरेको छ ।


कार्यालयका अनुसार अदालत तथा प्रशासनिक निकायका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ गरिएको हो । सुनसरी जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट विभिन्न मितिमा भएका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले असार १ गते प्रतिवादीहरूलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार अभद्र व्यवहार मुद्दामा हरिनगरा–७ का शजात खानलाई १० हजार रुपैयाँ जरिवाना बाँकी रहेको अवस्थामा पक्राउ गरिएको छ । त्यस्तै, चेक अनादर मुद्दामा इनरुवा–४ का मो. ताहिर मियाँलाई दुई फरक मुद्दामा जनही ३ हजार रुपैयाँका दरले कुल ६ हजार रुपैयाँ जरिवाना बाँकी रहेको अवस्थामा नियन्त्रणमा लिइएको छ ।


घरेलु हिंसा मुद्दामा धरान–१६ का नकुल घले गुरुङलाई ३ हजार रुपैयाँ जरिवाना बाँकी रहेको अवस्थामा पक्राउ गरिएको छ भने चेक अनादर मुद्दाकी धरान–११ की रूस्मा राईलाई २ हजार रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


यस्तै, अंश चलन मुद्दामा बर्जु–३ का इन्द्रकान्त राय, उमाकान्त राय, भागोदेवी राय, लक्ष्मीकान्त राय र विष्णुकान्त रायलाई पक्राउ गरिएको छ । उनीहरूबाट क्रमशः ८३७, ८३७, ८२७, ८२७ र ८२७ रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको छ ।


त्यसैगरी चोरी मुद्दामा दोषी ठहर भएका इटहरी–१० का राजकुमार बस्कोटालाई ५ हजार रुपैयाँ जरिवाना तथा ६५ दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको अवस्थामा पक्राउ गरिएको छ ।


पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।