झापा । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेमा गत जेठ २९ गते एक महिलामाथि सार्वजनिकरूपमा कालोमोसो दलेको घटनाप्रति मानवअधिकार सञ्जाल झापाले गम्भीर आपत्ति जनाएको छ ।

सञ्जालका अध्यक्ष डा. रूपकप्रसाद खनाल र सचिव दीपक दासद्वारा मङ्गलबार जारी विज्ञप्तिमा महिलामाथि अपमानजक व्यवहार भएको भन्दै घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ । विज्ञप्तिमा उल्लेख भएअनुसार घटनाको निष्पक्ष छानबिन गर्र्दै दोषीमाथि कडा कानूनी कारबाही गरिनुपर्ने माग गरेको छ । संविधानप्रदत्त मौलिक हकमाथि धावा बोलेको सञ्जालको भनाइ छ । कानून हातमा लिएर भीडको दबावमा व्यक्तिलाई दण्ड दिने प्रवृत्ति दण्डनीय अपराध भएको विज्ञप्तिमा उल्लेख छ ।

घटना जेठ २९ साँझतिरको हो । उक्त घटनामा सोही ठाउँकी २१ वर्षीया सविना राजवंशीलाई बिजुलीको पोलमा बाँधेर सार्वजनिक रूपमा कालोमोसो दलिएको थियो । प्रहरीले उक्त घटनामा पाँच जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । प्रहरीका अनुसार घटनामा संलग्न आरोपीलाई भेदभाव तथा अन्य अपमानजक व्यवहारसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ । उक्त घटनाको विषयमा भिडियोसमेत सार्वजनिक भएको थियो ।

सञ्जालले घटनामा प्रत्यक्ष साथै अप्रत्यक्ष रूपमा संलग्न भई भिडियो खिच्ने, उत्तेजना फैलाउनेहरूमाथि पनि कारबाही गर्न माग गरिएको छ । पीडितको गोपनीयताको हकलाई उल्लङ्घन गरी सामाजिक सञ्जालमा प्रसारण गरिएको तस्बिर तथा भिडियो तत्काल हटाउनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । यतिबेला उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । यस घटनामा दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ ।