धरान/ मनमोहन स्मृति फुटबल प्रतियोगिताको १२औँ संस्करण सोमबारदेखि धरान–१४ स्थित हात्तिसार केन्द्रीय प्राविधिक क्याम्पसको खेल मैदानमा सुरु भएको छ।
धरान–१५ स्थित धरान सिटी फुटबल क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको उद्द्घाटन कोशी प्रदेश सभाका प्रमुख सचेतक रमेशकुमार बस्नेतले गरे ।
पहिलो खेलमा आइडल स्कुल र प्रभात स्कुलबीच प्रतिस्पर्धा भएको थियो। खेलमा प्रभात स्कुलले ३–० गोलले जित निकाल्दै विजयी सुरुवात गरेको थियो।
दाेस्राे खेलमा विजयपुर बोर्डिङ स्कुल र लिगामेन्ट बोर्डिङ स्कुलबीचकाे खेलमा लिगामेन्टले १–० गोलले जित हात पारेको छ । लिगामेन्टका विशाल तामाङले गरेको एकमात्र गोल नै निर्णायक बन्यो।
आयोजकका अनुसार प्रतियोगितामा धरानका ८ वटा विद्यालय सहभागी छन्। प्रतियोगिताकाे फाइनल खेल असार १२ गते हुनेछ।प्रतियोगिताको विजेता टोलीलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण-पत्र प्रदान गरिनेछ भने उपविजेता टोलीले नगद २५ हजार रुपैयाँसहित मेडल, प्रमाण-पत्र तथा ट्रफी प्राप्त गर्ने आयोजक धरान सिटी फुटबल क्लबले जनाएको छ।
पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा प्रतियाेगिता आयोजना हुँदै आएको छ ।
-सन्देश तिम्सिना