विजयपुर । तेस्रो मेयर स्कुल ओलम्पिक सम्पन्न भएको छ । समग्र खेलमा माउण्ट हर्मन स्कुल उत्कृष्ट बनेको छ ।


शनिबार सम्पन्न ओलम्पिकमा माउण्ट हर्मन स्कुलले १३ स्वर्ण जितेको छ । असार १३ देखि सञ्चालित प्रतियोगितामा माउण्ट हर्मनले २ रजत र ९ कास्य पदकसहित शीर्ष स्थान हासिल गरेको हो । यस्तै, सैनिक आवासीय स्कुल ७ स्वर्ण, ४ रजत र ५ कास्य पदकसहित दोस्रो स्थानमा रहेको छ । पब्लिक हाई स्कुलले पनि ७ स्वर्ण र ४ रजत जिते पनि ३ कास्य पदकसहित तेस्रो बनेको छ ।


सुनाखरी स्कुल ६ स्वर्ण, ८ रजत र ६ कास्य पदकसहित चौथो तथा नेपाल प्रहरी स्कुल ५ स्वर्ण, ८ रजत र ७ कास्य पदकसहित पाँचौँ बनेको छ । हेप्पी केयर स्कुल र मेघा हिमालयन स्कुलले समान ४–४ स्वर्ण पदक जितेका छन् । हेप्पी केयरले ११ रजत र ९ कास्य पदकसहित उत्कृष्ट समग्र प्रदर्शन गर्दा मेघा हिमालयनले २ रजत र २ कास्य पदक प्राप्त गरेको छ ।


विष्णु मेमोरियल स्कुल र ओएसिस स्कुलले ३–३ स्वर्ण पदक जितेका छन् भने युरेका, लोटस, डिपोट, सुनगाभा, ज्ञान कुञ्ज, सियोन, लिगामेन्ट र बुद्ध आदर्श स्कुलले समान २–२ स्वर्ण पदक पाए । होलिगार्डेन, सेन्ट जोसेफ, सिद्धार्थ, नोबेल, दन्तकाली मावि, गोरखा स्कुल, ज्ञानोदय मावि, होलिल्याण्ड, के–के इन्टरनेशनल, जोलसाया, सहिद र प्रभात स्कुलले १–१ स्वर्ण पदक जिते ।


प्रतियोगिताका १० खेलमध्ये फुटबल प्रतियोगिता खराब मौसमका कारण स्थगन गरिएको आयोजकले जनाएको छ । समापनमा सुनाखरी एकेडेमी र नेपाल प्रहरी स्कुलबीच मैत्रीपूर्ण फुटबल खेल भएको थियो । समापनमा ९ खेलका पदक वितरण गरियो । समापन कार्यक्रममा धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्रविक्रम बेघाले धरानलाई खेलकुदको सहर तथा खेलकुद राजधानीका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए । धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राईले स्कुल ओलम्पिकले विद्यार्थीको प्रतिभा विकासमा टेवा पुगेको बताए । उनले यस वर्ष नगरले २३ लाख रुपैयाँ आर्थिक सहयोग गरेकोमा आगामी आर्थिक वर्षमा दोब्बर बनाउन आग्रह गरे ।

meyar

meyar3

meyar 2