विजयपुर । सुनसरीका विभिन्न स्थानमा प्रहरीले भन्सार छलेर ल्याइएका लाखौं रुपैयाँ बराबरका सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असार २३ गते विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा भन्सार छली गरी ल्याइएका लत्ताकपडा, किराना सामान तथा एक मोटरसाइकलसहित ४ लाख ६२ हजार ९१४ रुपैयाँ बराबरका सामग्री बरामद गरिएको हो ।
प्रहरीका अनुसार कोशी गाउँपालिका–८ बाट सबैभन्दा बढी २ लाख ३७ हजार ६ सय ९४ रुपैयाँ बराबरका लत्ताकपडा र किराना सामान बरामद गरिएको छ । यस्तै, भोक्राहा नरसिंह गाउँपालिका–६ बाट ६३ हजार ७ सय २० रुपैयाँ बराबरका किराना सामान नियन्त्रणमा लिइएको छ ।
देवानगञ्ज गाउँपालिका–२ मा गरिएको चेकजाँचका क्रममा भन्सार छली गरी ल्याइएको किराना सामान तथा एक मोटरसाइकलसहित १ लाख ५४ हजार रुपैयाँ बराबरका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै, इनरुवा नगरपालिका–९ बाट ७ हजार ५ सय रुपैयाँ बराबरका किराना सामान बरामद गरिएको छ ।
बरामद गरिएका सबै सामान आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सुनसरी भन्सार कार्यालय पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।