विजयपुर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. स्मृति कार्की नियुक्त भएकी छन् । प्रतिष्ठानको इतिहासमा कार्की पहिलो महिला उपकुलपति भएकी छन् ।


बिहीबार प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिष्ठानको प्याथोलोजी विभाग प्रमुखका रूपमा कार्यरत प्रा.डा. कार्कीलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।


स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतका अन्य पाँच स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि नयाँ उपकुलपति नियुक्त भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नवीसमान सिंह प्रधान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नारायणसिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. सूर्यमान म्याहाङम्बो तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. अजयकुमार मिश्र नियुक्त भएका छन् ।


सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा नेतृत्व चयनसँगै शैक्षिक, प्राज्ञिक तथा स्वास्थ्य सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ ।