विजयपुर । पाँचौँ अन्तरविद्यालयीय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप प्रतियोगिताको सेमिफाइनलमा चार विद्यालय प्रवेश गरेका छन् ।
आइतबार सम्पन्न क्वार्टरफाइनल खेलमा हिमालयन मेघा एकेडेमी (धरान), हिमशिखर इङ्लिस बोर्डिङ स्कुल (इटहरी), पाराडाइज बोर्डिङ स्कुल (इटहरी) र प्रभात सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल (धरान) विजयी हुँदै अन्तिम चारमा पुगेका हुन् ।
डिपो माध्यमिक विद्यालयद्वारा आयोजित प्रतियोगिताको पहिलो खेलमा हिमालयन मेघा एकेडेमीले दिल्ली पब्लिक स्कुललाई ४०–१५ अंकले पराजित गर्यो । खेलमा हिमालयन मेघाले क्रमशः ११–२, १२–५, १०–४ र ८–४ अंक जोड्दै सहज जित निकाल्यो। हिमालयन मेघाका सङ्गम ठाकुर ‘म्यान अफ द म्याच’ घोषित भए ।
दोस्रो खेलमा हिमशिखर इङ्लिस बोर्डिङ स्कुलले आयोजक डिपो माध्यमिक विद्यालयलाई रोमाञ्चक प्रतिस्पर्धामा ३०–२९ अंकले हरायो। निर्धारित समयसम्म दुवै टोली २८–२८ अंकको बराबरीमा रहेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा हिमशिखरले २ तथा डिपोले १ अंक जोड्दै हिमशिखर विजयी बन्यो। यस खेलमा हिमशिखरका स्वयम माझी ‘म्यान अफ द म्याच’ घोषित भए।
तेस्रो खेलमा पाराडाइज बोर्डिङ स्कुलले सुनाखरी एकेडेमीलाई ३५–८ अंकले पराजित गर्यो। पहिलो क्वार्टरमा ४–६ ले पछि परेको पाराडाइजले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै दोस्रो, तेस्रो र चौथो क्वार्टर क्रमशः १०–०, १३–० र ८–२ ले आफ्नो पक्षमा पार्दै सहज जित दर्ता गर्यो। पाराडाइजका सक्षम तामाङ ‘म्यान अफ द म्याच’ घोषित भए।
अन्तिम क्वार्टरफाइनलमा प्रभात सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलले चिल्ड्रेन्स एकेडेमीलाई २८–२४ अंकले पराजित गर्यो। प्रभातले पहिलोदेखि चौथो क्वार्टरसम्म क्रमशः ८–५, ८–८, १०–६ र २–५ अंक जोड्दै जित सुनिश्चित गर्यो। प्रभातका शुसान्त उराव ‘म्यान अफ द म्याच’ घोषित भए।
कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित प्रतियोगितामा मोरङ, सुनसरी र झापाका १६ विद्यालयको सहभागिता रहेको छ। प्रतियोगिताको विजेता टोलीले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। साथै उत्कृष्ट खेलाडी, सर्वाधिक स्कोरर र राइजिङ प्लेयरलाई पनि ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता विद्यालयका पूर्वअध्यक्ष तथा डिपो सार्वजनिक शैक्षिक गुठीका संस्थापक अध्यक्ष स्वर्गीय मेजर श्रवणकुमार लिम्बूको स्मृतिमा आयोजना गरिएको हो।
































