विजयपुर । पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कपमा प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल, धरान च्याम्पियन बनेको छ ।
मंगलबार सम्पन्न फाइनल खेलमा प्रभातले इटहरीका पाराडाइज बोर्डिङ स्कुललाई ३८–३० अङ्कले पराजित गरेको थियो ।
प्रतियोगिताको चार क्वाटर खेलमा प्रभातले ५–४, १०–११, ७–३, १६–१२ अङ्कले पाराडाइजलाई पराजित गरेको थियो । उपाधिसहित प्रभातले २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेता पाराडाइजले १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाए । खेलमा म्यान अफ द म्याच प्रभातका नेमसाङ मगर घोषित भए ।
समग्र खेलको आधारमा उदयमान खेलाडी पाराडाइजका सक्षम तामाङ, महत्वपूर्ण खेलाडी प्रभातका शुसान्त उराव र बढी अङ्क ल्याउने हिमालयन मेघा एकाडेमी धरानका सङ्गम ठाकुर घोषित भएका थिए ।
डिपो माध्यमिक विद्यालयले कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित गरेको प्रतियोगितामा मोरङ, सुनसरी र झापाका गरी १६ विद्यालयले भाग लिएका थिए । प्रतियोगिता विद्यालयका पूर्व अध्यक्ष तथा डिपोट सार्वजनिक शैक्षिक गुठीका संस्थापक अध्यक्ष स्वर्गीय मेजर श्रवण कुमार लिम्बुको स्मृतिमा आयोजना गरिएको हो । संस्थापक अध्यक्ष लिम्बूले विद्यालयको नेतृत्व गरिरहेकै बेला कोरोना महामारीमा २०७८ साल साउन १५ गते ज्यान गुमाएका थिए ।