वनस्पति संसारमा करोडौँ उपयोगी अमूल्य वृक्षहरू छन्, तीमध्ये मोरिङ्गा पनि एक हो । यसको वैज्ञानिक नाम मोरिङ्गा ओलेफेरा ( Moringa Oleifera ) हो । यसका थुप्रै नामहरू छन् । ड्रमस्टिक (Drumstick), हरसरैडीस (Horseradish) मिराकल ट्री (Miracle tree), Mother's best friend आदि । नेपालमा यसलाई विभिन्न नामबाट चिनिन्छ जस्तैः पूर्वी नेपालमा यसलाई सजीवन, मध्य नेपालमा शीतलचिनी र पश्चिम नेपालमा सवैजन भनिन्छ ।

शीतलचिनीको हरेक अङ्ग पोषण र औषधीय गुणहरूले परिपूर्ण छ । यसको पात र कोसालाई तरकारीको असङ्ख्य परिकारहरू बनाउनको लागि प्रयोग गरिन्छ । यसको सामाजिक र आर्थिक पक्ष पनि बलियो छ । सजीवनको खेतीबाट किसान अथवा अन्य व्यक्तिहरूले लाखौं पैसा कमाउँदैछन् वा रुखमा डलर फलाउँदैछन् भन्दा पनि फरक नपर्ला । आम्दानीको विकल्पको रूपमा शीतलचिनी संसारभरि प्रसिद्ध हुँदैछ । कुपोषण निवारणको लागि यो पोषणयुक्त आहारको राम्रो स्रोत हो ।

यसलाई असङ्ख्य रोगहरूको इलाजको लागि प्रयोग गरिन्छ । यसबाहेक बायोग्याँस, ग्रीन खाद्य (Green Manure), हर्बल चिया, बायोपेस्टिसाएड, तेल, गम, जुस अथवा प्रसाधन सामग्रीहरू बनाउनको लागि पनि सजीवन प्रयोग गरिन्छ । पर्यावरण सम्बन्धित समस्याहरूको निवारणको लागि पनि यो सर्वोत्तम वृक्ष हो । भविष्यमा सुपर फुड (Super food) को सम्भावना बोकेको शीतलचिनीको लोकप्रियता दिनदिनै बढ्दो क्रम जारी छ ।

शीतलचिनी पोषणको भण्डारः
शीतलचिनीमा प्रोटिन, फाइबर, ऐन्टिअक्सिडेन्टस, अमिनो एसिड्स, कार्वोहाइड्रेट, खनिजहरू (Ca, K, Mg, P, Fe, S, Mn), भिटामिनहरू (VitA, B1, B2, B3, E) प्रशस्त मात्रामा पाइन्छ । गरिब राष्ट्रहरूमा सजीवन पोषणको एउटा मुख्य र सस्तो स्रोत हो ।

शीतलचिनीको औषधीय गुणः
शीतलचिनीको हरेक भाग परम्परागत रूपमा प्रयोग हुँदै आएको छ । पात चाहिँ सबैभन्दा धेरै उपयोगी हुन्छ । अनुसन्धान अनुसार शीतलचिनी एकदमै फाइदाजनक छ, यसलाई लगभग ३ सय प्रकारको रोगहरूको रोकथाम वा इलाजको लागि उपयोग गर्न सकिन्छ । यसमा थुप्रै Flavonoids, alkaloids, coumarins, saponins, phenolic compounds, steroids, tannins, glycosides etc. जस्ता फाइटोकेमिकल्सहरू पाइन्छन् ।

वैज्ञानिक अध्ययनले पुष्टि गरे अनुसार शीतलचिनीका विभिन्न अङ्गहरूलाई यसरी प्रयोग गर्न सकिन्छः

–पातः शीतलचिनीको पातलाई औलो, बाथ, हृदय रोग, प्यारालाइसिस, छाला रोग, बी.पी., टाइफायड ज्वरो, सुगर, निमोनिया, रुघामर्की, रक्तअल्पता, दम, कान र आँखाको सङ्क्रमण, एच.आई.भी. जस्ता स्वास्थ्य समस्याहरूको इलाजको लागि प्रयोग गरिन्छ । रोग प्रतिरोधक बढाउन र परिवार नियोजनका लागि पनि पात लाभकारी छ ।

–फूलः ट्युमर, सुगर, फ्लु, हिस्टेरिया सुन्निएका मांसपेशीको रोगहरूलाई ठीक पार्नको लागि शीतलचिनीको फूल प्रयोग गर्न सकिन्छ ।

–कोसाः शीतलचिनीको कोसालाई कलेजो, झाडा पखाला, हाडजोर्नी आदि स्वास्थ्य समस्याहरूका समाधानका लागि प्रयोग गरिन्छ ।

–बोक्राः बोक्रालाई दृष्टि, जोर्नी, अल्सर, खोकी, पेटको दुखाइ, अधिक रक्तछापलाई ठीक पार्नको लागि सजिवनको बोक्रा प्रयोग गरिन्छ ।

–जराः शीतलचिनीको जराको प्रयोग एपिलेप्सी, दम, डाइबेटिज, औलो, भुँडी दुख्ने तथा दाँतको विभिन्न समस्याको रोकथामको लागि प्रयोग गरिन्छ ।

एग्रोफोरेस्ट्री (Agroforestry) मा शीतलचिनीः
कृषि वन प्रणालीमा अन्नबाली सँगसँगै वृक्षका बिरुवाहरू पनि रोपिन्छ साथै पशुपालनलाई पनि समावेश गरिन्छ । सजीवन शीघ्र बढ्ने वनस्पति भएको कारण यसलाई Agroforestry मा प्रयोग गरिन्छ । रोपेको २–३ वर्षमा नै फल्छ साथै यसको जरा जमिनमुनी गहिरोसम्म फैलिन्छ । नेपालमा सजीवन खेती तीव्रगतिमा अगाडि बढ्दै छ, जसबाट साना–ठूला सबै किसानहरूलाई फाइदा हुँदैछ । यसले देशको र समाजको आर्थिक स्थिति दरो बनाउँदैछ । साथै खाद्यान्न सुरक्षा बलियो बनाउनको लागि पनि शीतलचिनीको खेतीलाई प्रोत्साहन दिन जरुरी छ ।

जलवायु परिवर्तनमा मोरिङ्गाको भूमिकाः
२१ औं शताब्दीमा जलवायु परिवर्तनको समस्याले विकराल रूप लिँदैछ । यसको निवारणको लागि संसारका बुद्धिजीवीहरू अनुसन्धानमा लागिपरेका छन् र अध्ययनहरू अनुसार यस समस्यालाई कम गर्नको लागि सजीवन वरदान सावित हुन सक्नेछ । सजीवनले कार्वन सिङ्कको काम गर्नको साथै मिथेन(Methane) को उत्सर्जनलाई पनि कम गर्छ । जलवायु परिवर्तनको कारण खाद्यान्नको कमी, पिउनयोग्य पानीको कमी, अनिकाल, कुपोषण, गरिबी, रोगजनक परजीवीको वृद्धि हुँदैछ ।

जलवायु परिवर्तनको कारण वर्षाको नियमित चक्रमा अनियमितता देखा पर्दैछ । खेतीयोग्य जमिन मरुभूमिमा परिणत हुँदैछ । बालीनाली नष्ट हुँदैछ, खेती उत्पादनमा कमि आउँदैछ । यी सबै समस्याको स्मार्ट सोलुसन (Smart solution) मोरिङ्गाले गर्न सक्छ । किनकि मोरिङ्गा बन्जर भूमिमा पनि सजिलै बढ्न सक्छ, बेकार भूमिलाई उर्वर बनाउन सक्छ । तसर्थ, यी सबै समस्याहरूको निदानको लागि मोरिङ्गा रोप्नु पर्छ । यसले माटोको क्षय रोकेर माटोको रक्षा गर्छ । वन फँडानीको रोकथामको लागि पनि मोरिङ्गाको वनीकरण गर्नु उपर्युक्त हुनेछ ।

पानी शुद्धिकरणमा मोरिङ्गाको महत्वः
जल विना जीवनको कल्पना पनि गर्न सकिँदैन । स्वच्छ र पिउनेयोग्य पानीको कमी बढिरहेको छ । संसारका कतिपय राष्ट्रहरू पानीको अभाव खेपिरहेका छन्, अझ जल–प्रदूषणको समस्या विकराल हुँदै जाँदैछ । यसको समाधानको लागि मोरिङ्गा सर्वोत्तम वृक्ष हो । अशुद्ध फोहोर पानीलाई शुद्ध पार्नको लागि मोरिङ्गाको उपयोग हुन्छ ।

सहज र सजिलो तरिकाबाट पानीलाई स्वच्छ अथवा शुद्ध पार्नको लागि प्रयोग गरिन्छ । सहज, सजिलो र कम पैसा खर्च गरेर पानीको शुद्धीकरण गर्नलाई मोरिङ्गाको बियाँको प्रयोग उत्तम हुन्छ । बियाँलाई धुलो बनाएर अशुद्ध पानीमा मिसाउँदा धूलो, फोहोर पानीमा मौजुद ठोस कणहरूसँग टाँसिन्छ अनि मुनि जम्छ ।

यस प्रक्रियाबाट लगभग ९०–९९% पानीको जीवाणुहरूलाई हटाउन सकिन्छ । आलमुनियम सलफेट (Aluminium Sulphate) मानव र पर्यावरणको लागि हानिकारक हुन्छ, तसर्थ सजीवनको प्रयोग लाभकारी हुनाको साथै सस्तो प्रणाली पनि हो । २० लि. पानीमा २ ग्राम मोरिङ्गाको बियाँको पाउडर मिसाएर राम्ररी घोल्ने अनि सफा कपडाले छान्ने, त्यसपश्चात् उमाल्ने अनि सेलाएर पिउनलाई प्रयोग गर्ने ।

निष्कर्षः
समग्रमा भन्नुपर्दा शीतलचिनी प्रकृतिको वरदान हो । यो एउटा बहुउपयोगी र अमूल्य वनस्पति हो । यसको असङ्ख्य उपयोगहरू छन् । अझ कतिपय सोध अनुसन्धानहरु हुँदैछन्, यसको थप उपयोगिताहरू पत्ता लगाउनको लागि ।

साधारणतया शीतलचिनीको प्रयोगले स्वास्थ्य लाभ, आर्थिक लाभ, पर्यावरणको संरक्षण, जलवायु परिवर्तनको निवारण हुन्छ ।यसबाट औषधि, पोषण, तेल, पशु, चारा, प्राकृतिक मल, ग्रीन मेनुर (Green Manure), सौन्दर्य सामग्रीजस्ता उत्पादनहरू प्राप्त गर्न सकिन्छ साथै भूमि र जलको संरक्षणको लागि मोरिङ्गा एकदमै महत्वपूर्ण छ ।

यसर्थ नेपालमा यसको खेती र व्यावसायीकरणलाई प्रोत्साहन दिनु आवश्यक छ । 
(लेखक केन्द्रीय प्रविधि क्याम्पस, हात्तीसार, धरानकी उप–प्राध्यापक हुन् ।)