काठमाडौँ / चिकित्सा शिक्षामा सुधार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई महाअभियोग लगाउनुपर्ने माग राखी त्रिवि शिक्षण अस्पतालमा अनशनरत प्राडा गोविन्द केसीले दसैँ अवधिभर आफ्नो अनशन स्थगन गरेका छन ।
अनशनरत अवस्थामा शुक्रबार राती डा केसीले पत्रकार सम्मेलन गरी दसैँ अवधिभर आफ्नो अनशन स्थगित भएको घोषणा गरेका हुन ।
विभिन्न माग राख्दै यही असोज १० गते प्राडा केसीले नवौँ आमरण अनशन सुरु गर्नुभएको थियो । सरकारले गरेका सहमति पूरा हुने अवस्था नदेखिएकाले दबाबस्वरुप अनशन बस्नुपरेको बताउदै आएका थिए ।
यसअघि यही असोज ३ गते नै अनशनको घोषणा गरेका उनले शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीले सहमति कार्यान्वयन गर्ने प्रतिबद्धतापत्र पठाएपछि एक हप्ता सरकारलाई समय दिई अनशन स्थगन गरेका थिए ।
डा केसीले चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)मा वरिष्ठताका आधारमा डीन नियुक्त गर्नुपर्ने, विचाराधीन विधेयक संसद्बाट फिर्ता लिनुपर्ने र आइओएमका भ्रष्टाचारीमाथि छानबिन र कारबाही गर्नुपर्ने, चिकित्सा शिक्षामा सुधार गर्नुपर्नेजस्ता माग राख्दै आएका छन् ।रासस