काठमाडौँ  / नेकपा माले र नेकपा मसाल सहित विभिन्न आठ वामदलले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा जारी भएको संयुक्त वक्तव्यमा राष्ट्रिय स्वाधीनतामा आँच आउने विषय समावेश भएको भन्दै संयुक्त सङ्घर्ष गर्ने भएका छन् । Prachanda in india ती दलले विगतमा विभिन्न समयमा गरिएका दुई देशका असमान र राष्ट्रघाती सन्धि–सम्झौतालाई खारेज गरी नेपाललाई स्वतन्त्र राष्ट्रकारूपमा स्थापित गर्ने आवश्यकताको बोध भएका बेला गत भदौ ३१ गते दिल्लीमा जारी संयुक्त विज्ञप्ति राष्ट्रको हितमा नभएको ठहर गरी विरोध गर्ने निर्णय गरेका हुन् । सहमत हुने दलसँग सहकार्य गर्दै राष्ट्रघात र त्यसका विरुद्धको सङ्घर्षको आवश्यकताबारे चर्चा गर्दै एक संयुक्त पर्चा प्रकाशन र वितरण गर्ने र आगामी कात्तिक ९ गते काठमाडौँको सुन्धारामा विरोध जुलुस प्रदर्शन गरी शान्ति वाटिकामा जनसभा आयोजना गर्ने मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा हिजो जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । विरोध कार्यक्रममा नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादी,नेकपा माले, नेकपा माक्र्सवादी, जनमोर्चा नेपाल, राष्ट्रिय जनमोर्चालगायत सहभागी हुनेछन् । रासस