barsaman punविराटनगर/  सरकारको नेतृत्व गरेको पार्टी नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले मधेशी मोर्चाले सहमति नजनाए सरकारले संविधान संशोधन प्रस्ताव सदनमा नलैजाने बताएका छन् । संशोधन विधेयक संसदमा दर्ता भए सकारात्मक ढंगबाट छलफलमा सहभागी भई सहमति खोज्ने बताएको संयुक्त मधेशी मोर्चा त्यसबाट पछाडी फर्केको खण्डमा सरकार निर्वाचन तर्फ अघि बढ्ने नेता पुनले बताए । प्रेस सेन्टर नेपाल, मोरङले विराटनगरमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता वर्षमान पुनले संघीय समाजवादी फोरमका नेता उपेन्द्र यादवले भनेजस्तो मात्र संशोधन अघि बढ्न नसक्ने उनले बताए । उनले भने– ‘अहिले संविधान संशोधन गर्नुपर्छ भन्ने सबै दलहरुले महशुस गरेका छन् तर त्यसमा आ–आफ्ना मुद्दाहरु छन् कमन ग्राउण्डमा सहमति खोज्नु पर्छ उहाँले भनेजस्तै हुनुपर्छ अन्यथा हुदैन भन्ने धम्की आए सरकार आफ्नै तरिकाले अघि बढ्छ ।’ मधेशी मोर्चा र जनजातीले उठाउँदै आएको माग सम्वोधन गर्न संविधान संशोधन प्रस्ताव अघि बढाएको प्रसंग उल्लेख गदै नेता पुनले ‘छलफल नगर्ने र आफ्नो अडान मात्र राख्ने हो भने सरकार निर्वाचनको मिति घोषणा गरेर अघि बढ्छ नमान्नेहरु आन्दोलनमा जानुहुन्छ ।’ शनिवार मात्र यादवले १० प्रदेश भएमात्रै आफूहरुले संविधान संशोधनको प्रस्ताव मान्ने बताएका थिए । मंसिर ६ र ७ गते संविधान संशोधनका लागि सहमति बनाउन अन्तिम प्रयास गरिने जानकारी दिँदै त्यसमा सहमति नभए स्थानीय तह पुर्नसंरचना आयोगले मंसिर १५ गते प्रतिवेदन बुझाए लगतै चुनावको मिति घोषणा गरेर जाने सरकारको तयारी रहेको नेता पुनले बताउनुभयो । उहाँले चैत्र मसान्त भित्रै चुनाव गरेर संविधान कार्यान्वयनमा अघि बढ्ने सरकारको कार्यसुची परिवर्तन नहुने पनि स्पष्ट गरे । संविधान संशोधन गर्दा प्रदेशको सीमाना परिवर्तन गर्ने विषयमा विभिन्न विकल्प प्रस्तुत भएपनि नटुंगिएको उनले बताए । नेता पुनले प्रदेश नम्वर ५ का पहाडी जिल्लाहरुलाई ४ नम्वर प्रदेशमा समावेश गरेर सहमति खोज्नु उपयुक्त हुने बिचार व्यक्त गरेका थिए । अहिले सरकार टिकाउने तर्फ नभई राष्ट्रिय समस्या समाधान गर्दै संविधान कार्यान्वयनमा मुख्य ध्यान दिनुपर्ने उनको भनाई थियो । उनले संविधान कार्यान्वयन गर्दै राजनीतिक निकासकालागि दुई राप्रपाबीचको एकीकरणले पनि सकारात्मक भूमिका खेल्ने बताए । उनले राप्रपा नेपाल पनि सत्तापक्ष जस्तै समस्या समाधानकालागि जिम्मेवार देखिएको बताए ।