
काठमाडौं / नेपालको आन्तरिक मामिलामा बारम्बार हस्तक्षेप गर्दै आएका भारतीय राजदूत रञ्जीत रेलाई देश निकाला गर्ने प्रक्रिया अघि बढाइएको छ ।
आम जनताको माग र दबाबमा परराष्ट्र मन्त्रालयले राजदूत रेमाथि कारवाही प्रक्रिया अघि बढाएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले हेलो सरकारमार्फत आएको भारतीय राजदूतलाई देश निकाला गरियोस भन्ने मागबारे कारवाही प्रक्रिया अगाडि बढाइएको बताए ।
राजदूत रेले मधेसी मोर्चाका नेतालाई दूतावास बोलाएर संविधान संशोधनबारे छलफल गरेपछि आइतबार पत्रकार घमराज लुइँटेलले हेलो सरकारमा ‘कुटनीतिक मर्यादाविपरित नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरी भाँडेकोले भारतीय राजदूत रायलाई देश निकाला गरियोस्’ भन्दै उजुरी हालेका थिए ।
भारतीय राजदूतलाई देश निकाला गरियोस् भन्ने गुनासो हेलो सरकारले दर्ता गरी परराष्ट्र मन्त्रालयमा पठाएको थियो । त्यसमा परराष्ट्र मन्त्रालयले कारवाही प्रक्रिया अगाडि बढाएको जनाएको छ । ‘हेलो सरकारबाट आएको उजुरीमाथि हामीले तत्काल कारवाही प्रक्रिया अघि बढाएका छौं,’ परराष्ट्र प्रवक्ता पौडेलले भने ।
विदेशी दूतावासमा भात खान पुग्नेहरुबाट देशको अस्तित्व खतरामाः भीम रावल
नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष भीम रावलले विदेशी दूतावासमा भात खान पुग्नेहरुबाट देशको अस्तित्व खतरामा परेको बताएका छन् ।
एमाले अछामको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष रावलले मधेसी नेताहरुलाई लक्षित गर्दै आफ्नो देशको संविधान संशोधनको सल्लाह गर्न विदेशी दूतावासमा भात खान पुग्नेहरुवाट देशको अस्तित्व खतरामा पर्न सक्ने भएकाले चनाखो रहन कार्यकर्तालाई निर्देशन दिए ।
नेपालको अस्तित्व मेटाउन संविधान संशोधन
अहिलेको सरकारले नेपालको अस्तित्व मेटाउने गरी संविधान संशोधन प्रस्ताव ल्याएको उनको आरोप छ । ‘विदेशीलाई अंगीकृत नागरिकता प्रदान गरी उनीहरुलाई राज्यको प्रमुख पदमा पुर्याई नेपाललाई सिक्किमीकरण गराउने खेल भैरहेको छ,’ रावलले भने– ‘यसकाविरुद्ध देशभक्त नेपालीले लाग्नुपर्ने अवस्था आएको छ ।’
पूर्व गृहमन्त्री समेत रहेका रावलले संविधान कार्यान्वयन गर्नुपर्ने अहिलेको समयमा प्रचण्ड नेतृत्वको सरकारले संविधान संशोधन प्रस्ताव ल्याएर देशलाई द्धन्द्धमा धकेल्ने काम गरेको आरोप लगाए । उनले मधेसीहरुका लागि भनेर ल्याएको प्रस्ताव मधेसीहरुले नै अस्वीकार गरेको संविधान संसोधन प्रस्ताव कसका लागि ल्याएको हो भन्ने प्रश्न गरे ।
हिमाल पहाड र तराई मिलेर बनेको अखण्ड सार्वभौम नेपालबाट तराईका जिल्लाहरु अलग्याई छुटै राज्यको नाममा विदेशीको हातमा सुम्पिने राष्ट्रघाती खेल भैरहेको बताउँदै उपाध्यक्ष रावलले विदेशीलाई खुसी पार्न आफ्नो देशको अस्तित्व समेत धरापमा पार्ने खोज्ने राष्ट्रघातीविरुद्ध आवाज उठाउन कार्यकर्ताहरुलाई निर्देशन दिए ।
सरकार भारतीय विस्तारवादको खेलौनाः चित्रबहादुर केसी
राष्ट्रिय जनमोर्चाले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावविरुद्ध सडक संघर्षलाई पनि तीव्रता दिएको छ । अध्यक्ष चित्रबहादुर केसीले संविधान संशोधन प्रस्ताव राष्ट्रहितमा नरहेको भन्दै त्यस विरुद्ध सडक संघर्षलाई पनि तीव्रता दिने घोषणा गरेका हुन् ।
संविधान संशोधन प्रस्ताव विरुद्ध पार्टीले सोमबार नयाँ बानेश्वर चोकमा आयोजना गरेको विरोध प्रर्दशन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार भारतीय विस्तारबादको खेलौना बनेको आरोप पनि लगाए । उनले भारतीय दूतावास लैनचौरमा सेन्सर गरिएको संविधान संशोधन प्रस्ताव सरकारले ल्याएको भन्दै त्यसलाई नेपाली जनताले मान्न नसक्ने बताए। अध्यक्ष केसीले नेपाललाई विखण्डन गराउन भारतले संघीयताको गलपासो नेपाल राष्ट्रको घाटीमा झुन्डयाईदिएको जिकीर गरे ।
राष्ट्रिय जनमोर्चाले मुलुकलाई टुक्रयाउने गरी डिजाईन अन्तर्गत संघीयतासम्बन्धी अवधारणा आएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ ।
विद्यार्थीद्वारा भारतीय दूतावास घेराउ
संविधान संशोधनका विरोध गर्दै आएका दलहरूका युवा तथा विद्यार्थी संगठनले सोमबार काठमाडौंस्थित भारतीय दूतावास अगाडि घेराउ गरेका छन् ।
भारतीय राजदूत रेञ्जीत रेले मधेस केन्द्रीत दलका नेताहरूलाई बोलाएर संविधान संशोधनको पक्षमा उभिन लविङ गरेको र नेपालको आन्तरिक राजनीतिक मामिलामा हस्तक्षेप गरेकोले दूतावास घेराउ गरिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को भ्रातृ संगठन युवा संघ, अखिलसहित संयुक्त युवा–विद्यार्थी आन्दोलनले भारतीय दूतावास घेराउ गरेका हुन् । विहान १० बजेदेखि दूताबास अगाडि घेराउ गरे । ‘भारतीय चलखेल बन्द गर’, ‘राजदूत रन्जित रेलाई देश निकाल’ जस्ता नारा लगाएर उनीहरुले प्रर्दशन गरेका थिए ।