dharan-nepalधरान / धरानको विकासमा ‘कोशेढुङ्गा’ सावित गर्ने पूराना आयोजनाहरु पूरा गर्ने तयारीमा धरान उपमहानगरपालिका लागेको छ । नयाँ कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले धरान उपमहानगरमा आएसँगै पूराना आयोजनाहरु ब्युताएका छन् । अधिकृत कोइरालाले नयाँ आयोजनाहरुलाईसमेत अघि बढाउने योजना अघि सारेका छन् । निक्कै विवादित बनेका पूराना आयोजनाहरु सम्पन्न गर्नको लागि चरण–चरणमा वार्ता तथा छलफलका कार्यक्रम सूचारु भएका छन् । २०५६ सालताका सुरु भएको धरान–८ स्थित तीनकुने सुन्दरबस्ती जग्गा एकिकरण आयोजना विवादका कारण ठप्प भएको थियो । उक्त आयोजनालाई पूरा गर्नको लागि बरिष्ठ कर अधिकृत खगेन्द्रप्रसाद खतिवडालाई आयोजना प्रमुखको रुपमा जिम्मेवारीसमेत दिइएको छ । ‘राजनीतिक दलहरुसँग छलफल गरिसकेको छ ।’ आयोजना प्रमुख खगेन्द्रप्रसाद खतिवडाले भने, ‘त्यो जग्गा बहुउद्देश्य प्रयोजनको लागि काम अघि बढेको थियो ।’ त्यो आयोजनामा दातृसंस्थाका प्रतिनिधि र धरान उपमहानगरका कर्मचारीहरुले गल्तीका कारण अघि बढ्न सकेको थिएन् । स्थानीयबासी अघि नबढेसम्म उक्त आयोजना अघि बढ्न नसक्ने तर्क प्रमुख खतिवडाले बताए । पूराना आयोजनाहरुमा विमानस्थल निर्माण कार्य सूचारु गर्ने तयारीमासमेत रहेको छ । यसका लागि मन्त्रालयबाट सर्वेक्षणलगायतका लागि २ करोड बजेट विनियोजनसमेत भइसकेको छ । अधिकृत कोइरालाले सर्दुकरिडोर सडक विस्तार र संप्तरंगी पार्क व्यवस्थापन, सेउती करिडोर सडक र बाइपास हाइवे निर्माण, विजयपुर सडकको विस्तार÷निर्माण वृक्षारोपण र सडकबत्ति व्यवस्थापन, विजयपुरको विविधता व्यवस्थापन र पञ्चकन्या वन व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, भवन नक्साहरुलाई डिजिटलाइज्ड, बधशाला तथा मासु व्यवस्थापन कार्य प्रयोजनको लागि छुट्टाछुट्टै प्रमुखहरु तोकेर काम अघि बढाइएको छ । ‘विभिन्न राजनीतिक कारणले, स्थानीय कारणले रोकिएका मेघा प्रोजेक्टहरुलाई निरन्तरता दिएर जाने भन्ने छ ।’ कार्यकारी अधिकृत कोइरालाले भने, ‘नयाँलाई पनि अघि बढाउने कि भन्ने भइरहेको छ ।’ उनले सेउती करिडोर र वाइपास बनाउन सकेमा धरानको भानुचौकलाई व्यस्थापन गर्दै रात्रीकालीन बजारको विकास गर्न सकिने बताए । उनले सुन्दर बस्ती आयोजनालाई सम्पन्न गर्नको लागि चरण चरणमा राजनीतिक दलहरुसँग वार्ता, छलफल र सहमति गरिरहेको साथै त्यसका लागि स्थानीयवासीहरुसँग पनि छलफल गर्ने तयारी भइरहेको बताए । उनले कतिपय आयोजनाहरुमा ‘बोल्ड डिसिजन’ गरेर जानु पर्ने अवस्था सिर्जना भएको बताए । सर्दुकरिडोर सडक विस्तार तथा सप्तरंगी पार्क व्यवस्थापनको लागि बरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडालाई जिम्मेवारी दिइएको छ । सेउती करिडोर सडक र वाइपास हाइवेको लागि बरिष्ठ इन्जिनियर सुरज श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । विजयपुर सडक विस्तारको लागि आन्तरिक लेखा परीक्षक रमेशकुमार साहलाई जिम्मेवारी दिइएको छ । त्यस्तै विजयपुर विविधता व्यवस्थापन र पञ्चकन्या वन व्यवस्थापन कार्य प्रयोजनको लागि भेषराज अधिकारीलाई जिम्मेवारी तोकिएको छ ।