विषादी नियन्त्रणसम्बन्धी सडक नाटक
- मंसिर २५, २०७३
- ब्लाष्ट खबर
इलाम/‘घातक विषादीको प्रयोग निर्मुलीकरण गरौँ । आफ्नो र भावी सन्ततिको रक्षा गरौँ’ भन्ने मूल नाराका साथ इलाममा पनि विषादी सप्ताह सुरू गरिएको छ ।
मङ्सिर १८ देखि मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सप्ताहका अवसरमा शुक्रबार इलाममा सडक नाटक देखाइएको छ । नाटकमा गाउँमा सर्वसाधारण किसानले असुरक्षित ढङ्गले प्रयोग गर्ने विषादी र त्यसले मानव स्वास्थ्यमा पर्ने असरका बारेमा जानकारी गराइएको थियो । जिल्ला कृषि विकास कार्यालय इलामको आयोजनामा भएको कार्यक्रममा प्रतिबन्धित विषादीका बारेमा पनि जानकारी गराइएको थियो । विगत वर्षमा विषादी प्रयोग आफूखुसी गर्दै आएको भए पनि पछिल्ला वर्षमा विषादी प्रयोगप्रति किसान सचेत बन्दै गएको कार्यालयका सूचना अधिकारी प्रकाशमणि काफ्लेले बताए ।
जैविक विषादीको सहज उपलब्धताका कारण इलाममा पछिल्लो समयमा रासायनिक विषादी प्रयोगमा कमी आएको छ । कार्यालयका अनुसार आव २०७२/०७३ मा इलाममा ९०२ लिटर झोल रासायनिक विषादी र ७०३ किलो धुलो रासायनिक विषादी प्रयोग भएको छ । यो अघिल्लो आवमा भन्दा चार दशमलव ७७ प्रतिशत कम हो । आव ०७१÷७२ मा ९५२ लिटर झोल र ७३३ किलो धुलो रासायनिक विषादी प्रयोग भएको थियो । विशेषज्ञका अनुसार इलाममा तरकारी, फलफूल, चियामा सर्वआयल, मल्टिनिम, एनिसोफाली, मेटाइजियम, ट्राइकोडर्मा भिरिडी विषादीको प्रयोग हुन्छ ।
नेपालमा करिब एक हजार ४०० प्रकारका विषादी सूचीकृत भएका छन् । त्यसमध्ये क्लोरडेन, डिडिटी, डाइअल्ड्रिन, इन्ड्रिन, अल्ड्रिन, हेक्टाक्लोर, मिरेक्स, टोकसाफेन, बिएचसी, लिन्डेन, फर्फा्मिडन, अर्गनोमर्की, मिथायल पाराथायन, मेनोक्रोटोफस र इन्डोसर्फान र फोरेट भने प्रतिबन्धित छन् । विषादीको असर धेरै देखिए पनि यसको आयात भने कम छैन ।
आव ०७१/०७२ मा नेपालमा ४५४ दशमलव छ टन विषादी आयात भएको छ । कृषि विभागको तथ्याङ्क अनुसार कीटनाशक विषादी १६२ टन, रोगनाशक विषादी १९२ टन, झारनाशक विषादी ९० टन र अन्य १० टन आयात भएको छ ।
उक्त परिमाणको विषादी आयात गर्न रु ५५ करोड खर्च भएको जनाइएको छ । विषादीका कारण लामो समयपछि देखिने असरमा अन्धोपन, क्यान्सर, ट्युमर, नपुङ्सकता, बाँझोपना, विकृत बच्चाको जन्म, नशासम्बन्धी समस्या, पक्षघात जस्ता समस्या हुने गरेको विशेषज्ञ बताउँछन् । रासस