विजयपुर/ बुढासुब्बा प्याराग्लाइडिङ नेपाल प्रालिले सोमबारबाट धरानमा व्यावसायिकरुपमा प्याराग्लाइडिङको सुरुवात गरेको छ । धरान २४ स्थित रमिते डाँडा(चिन्डे)बाट प्रालीले ब्यबसायीक उडान सुरु गरेको हो । पहिलो व्यावसायिक उडान सेपाक टेक्रो संघ सुनसरीका अध्यक्ष वीरेन्द्र बिक्रम लिम्बुले गरेका थिए।
व्यावसायिक उडान अघि धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइराला र सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र साहले पाइलट देशवीर जिमीलाई ग्लाइडर हस्तान्तरण गरेर औपचारिक रुपमा प्रालिको उद्घाटन गरेका थिए। चिण्डे डाँडाबाट टेकअफ गर्ने र धरान १७ सर्दु किनारमा ल्याण्डिङ गर्ने भएको छ ।
बुढासुब्बाले पाँच जना टेण्डम पाइलटको अनुमति पाएको प्रालीका अध्यक्ष लेखमणि जीमीले बताए ।उद्घाटन समारोहमा बोल्दै धरान उपमहानगरपालीकाका कार्यकारी अधिकृत कोइरालाले धरानको मात्र नभई पूर्वाञ्चलकै पर्यटकीय विकासमा नयाँ आयाम थपिएको बताए। थप पर्यटन विकासको लाग साविक विष्णुपादुका प्रवेश गर्ने २ वटा नाकामा पुल निर्माण गर्न पहल गर्ने साथै, बाटो विस्तार र स्तरोन्नति गर्न उपमहानगरपालिका प्रतिवद्ध भएको पनि बताए ।
प्रालिका अध्यक्ष लेखमणि जिमीले पर्यटन विकासकालागि पूर्वाधार विकास हुन आवश्यक भएकाले विगत ६ वर्षदेखि पूर्वाधार तयार गरेर भर्खर मात्र व्यावसायिक उडान सुरु गरेको बताए।

































