इलाम/ फोटो पत्रकारितासम्बन्धी तीनदिने तालिम इलामको जिल्ला विकास समितिको सभाहलमा शुरु भई श्रीअन्तुमा सम्पन्न भएको छ । पत्रकार महासङ्घ इलाम शाखाको आयोजना तथा जिल्ला विकास समिति र इलाम नगरपालिका कार्यालयको सहयोगमा सञ्चालित तालीममा विभिन्न सञ्चारमाध्यममा कार्यरत् ३० भन्दा बढी पत्रकारहरू सहभागी थिए ।
तालिमलाई फोटो पत्रकार चन्द्रशेखर कार्कीले सहजीकरण गरेका थिए । फोटोको माध्यमबाट पनि विषयवस्तुबारे जानकारी गराउन सकिने, विभिन्न स्थल अवलोकन, पर्यटन प्रवद्र्घन र फोटो पत्रकारितालाई व्यावसायिक बनाउने उद्देश्यले तालीम आयोजना गरिएको हो । श्रीअन्तुमा नेपालकै उत्कृष्ट सूर्योदयको दृश्यावलोकन, अन्तु कटेज, अन्तु पोखरीलगायतका स्थल अवलोकन गर्दै फोटो खिच्ने कार्यक्रमसमेत भएको थियो । इलामको ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक, पर्यटन प्रवद्र्घन विकास गर्न फोटोले आकर्षण गर्ने बताउँदै फोटो पत्रकार कार्कीले इलाममा आउन पाउँदा हर्षित भएको बताएका थिए ।
समापन कार्यक्रममा प्रमुख अतिथि समालबुङ गाविसकी सचिव इन्दिरा लामाले समालबुङको पर्यटन विकासमा तालीमबाट थप सहयोग हुने भन्दै पत्रकार महासङ्घलाई धन्यवाद दिएकी थिइन् । आगामी दिनमा पनि महासङ्घले यस्ता तालीम आयोजना गर्ने शाखाका अध्यक्ष रोहितचन्द्र भट्टराईले बताए ।