himpatतेह्रथुम / तेह्रथुमको माथिल्लो क्षेत्रमा मङ्गलबार अपराह्नदेखि बाक्लो हिमपात शुरु भएको छ । वर्षासँगै हिमपात शुरु भएपछि माथिल्लो क्षेत्रको जनजीवन प्रभावित भएको छ । जिल्लाको पर्यटकीय क्षेत्र चित्रे, नुनथला, पटेकडाँडा, तीनजुरे, मङ्गलबारे, गुफा, मिल्के लगायतका क्षेत्रमा अहिले हिउँ परिरहेको छ । सङ्खुवासभाको चौकी बजारमा पनि बाक्लो हिउँ परिरहेको स्थानीय उदयकुमार तामाङले बताए । बजारसहित वरपरका लेकाली बस्तीमा पानीसँगै बाक्लो हिउँ परिरहेकाले स्थानीय घरबाहिर निस्किन सकेका छैनन् । तीनजुरे–मिल्के–जलजले क्षेत्रमा पनि बाक्लो हिउँ परिरहेको छ । एक्कासी हिउँ परेकाले लेकाली क्षेत्रका जङ्गलमा रहेका चौंरी तथा भेडी गोठहरु औल क्षेत्रमा झार्न नपाएको नुनढाकीका लाक्पा तामाङले वताए । कोशी राजमार्गको सिँधुवादेखि चित्रेसम्मको सडकमा बाक्लो हिउँ जमेकाले सवारी आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक प्रमुख भीम कटुवालले बताए ।