
काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सर्वोच्च अदालतले गरेको निर्णयको स्वागत गर्दै संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएको छ ।
मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालकोट निवासमा बसेको एमाले स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्दै व्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन र राजनीतिक सहमतिका आधारमा अघि बढ्न सरकारको गम्भीर ध्यानाकर्षण गरेको सचिव योगेश भट्टराईले जानकारी दिए । सर्वाेच्चको निर्णयपछि संसद खुल्छ भनेर ढुक्क भएको सरकारलाई एमालेको यो निर्णयले झट्का दिएको छ । यसैगरी नेपाल राष्ट्र, नेपाली जनताबीचकाको सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई अझ बलियो बनाउन तथा संविधानको कार्यान्वयन गर्दै तीनै तहको निर्वाचन सम्पन्न गर्न जनताको एकता प्रदर्शन गर्न आयोजित उक्त प्रदर्शनमा सहभागी हुन राजधानी उपत्यका र विभिन्न जनवर्गीय संगठनको मातहतमा संगठित र क्रियाशील सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक र आम जनसमुदायसमक्ष आह्वान समेत गरेको छ ।
यस्ता छन् एमालेका आजका ६ निर्णय:
१. हिजो २०७३ पुस १८ गते सम्मानित सर्वोच्च अदालतले गरेको निर्णयप्रति नेकपा (एमाले) सम्मान व्यक्त गर्दछ । २. प्रदेश सभाको सहमतिबिना प्रदेशको सीमांकन हेरफेर हुन सक्दैन भनी संविधानमा उल्लेखित व्यवस्था र हाम्रो पार्टीको अडानलाई सर्वोच्च अदालतको हिजोको फैसलाले थप पुष्टि गरेको छ ।

३. बैठकले सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्दै व्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन र राजनीतिक सहमतिका आधारमा अघि बढ्न सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ ।
४. विकसित नयाँ परिस्थितिका सन्दर्भमा संविधान संशोधन प्रस्तावको विरुद्धमा रहेका संघर्षरत ९ राजनीतिक दल लगायत व्यवस्थापिका संसदमा रहेका राजनीतिक दलहरुसहित विभिन्न क्षेत्रका सरोकारवालाहरुसँग परामर्श गरी पार्टीले भावी कदमको बारेमा निष्कर्षमा पुग्ने निर्णय गरेको छ ।
५. संविधान संशोधन प्रस्तावका विरुद्ध ५ नम्बर प्रदेश लगायत देशभरका जनसमुदायले गरेको विरोध र संघर्षका लागि बैठकले विशेष धन्यवाद ज्ञापन गरेको छ ।
६. संविधान संशोधन प्रस्तावको विरुद्धमा यही पुस २२ गते राजधानीमा हुने ९ राजनीतिक दलको जनप्रदर्शनलाई अझ बढी सशक्त, प्रभावकारी बनाउँदै व्यापक जनताको सहभागिता जुटाउन सम्बन्धित सबैलाई आह्वान तथा निर्देशन गरेको छ ।