मिर्गौलापीडितलाई आर्थिक सहयोग
फलेवास (पर्वत)/लामो समयदेखि मिर्गौला रोगबाट पीडित बनेका पर्वतका तीनजना पीडितलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
सामाजिक सेवामा क्रियाशील मातृभूमिका लागि पर्वत सेवा समाज नेपालले तीनजना मिर्गौलापीडितलाई रु एक लाख १० हजार सहयोग गरेको हो ।
समाजले इजरायलमा सञ्चालन गरेको रामभक्त बचाउ अभियानबाट सङ्कलन गरेको रु ५० हजार र बाँकी रकम संस्थाको खाताबाट गरी रु एक लाख १० हजार रकम हस्तान्तरण गरिएको अध्यक्ष अर्जुनप्रसाद पौडेलले जानकारी दिए ।
उक्त रकम कुश्मा नगरपालिका–१६ पिपलटारीका देवीबहादुर विक (रामभक्त) लाई रु ७० हजार, राम्जादेउराली गाविस वडा नं ३ गोतामेथर निवासी अनिता पौडेललाई रु २० हजार र कुश्मा नगरपालिका, खुर्कोट निवासी सङ्गीता शर्मालाई रु २० हजार रकम हस्तान्तरण गरेको संस्थाका अध्यक्ष पौडेलले जानकारी दिए ।
आर्थिक अभावका कारण मिर्गौला रोगको गतिलो गरी उपचार गर्न नपाएका उनीहरुलाई थोरै भए पनि राहत मिलोस् भनेर सहयोग गरिएको हो ।
उक्त रकम शनिबार पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिओम शर्मा लामिछानेले पीडितलाई हस्तान्तरण गरे । कार्यक्रममा लामिछानेले मातृभूमिका लागि पर्वत सेवा समाज नेपालले यसअघि पनि सामाजिक क्षेत्रमा रहेर विभिन्न काम गर्देै आएको भन्दै आर्थिक स्थिति कमजोर रहेका तथा मिर्गौलापीडित परिवारको पहिचान गरी आर्थिक सहयोग हस्तान्तरण गर्नु निकै सराहनीय काम रहेको बताए । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































