विराटनगर/एमाले मोरङको आठौं जिल्ला अधिवेशनको सबै तयारी पूरा भएको छ । पार्टी कार्यालय पाञ्चालीमा पत्रकार सम्मेलन आयोजना गरेर जिल्ला अधिवेशनकालागि प्रतिनिधिहरु निर्वाचन गर्ने लगायत सबै तयारी पूरा भएको जानकारी दिएको हो । जिल्ला अधिवेशन सोमवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् ।
जिल्ला अधिवेशनमा ८ सय ८२ जना प्रतिनिधि सहभागि हुने छ । अधिवेशन सम्पन्न गर्न १ सय १५ जना स्वयंसेवक परिचालन गरिने अध्यक्ष महेश रेग्मीले जानकारी दिनुभयो । अधिवेशन उद्घाटनका क्रममा महासचिव इश्वर पोखरेल, सचिव योगेश भट्टराई लगायत वरिष्ठ नेताहरु आउने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
तीन दिनसम्म चल्ने जिल्ला अधिवेशन सम्पन्न गर्न विभिन्न १४ उपसमिति गठन गरिएको छ भने करिव २५ लाख रुपैंया खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष रेग्मीले बताए । उनले पार्टी सदस्यहरुले बुझाएको लेबी र केही सुवेच्छुकहरुको सहयोगबाट आर्थिक आवश्यकता पुरा गरिने जानकारी दिए ।
भावी नेतृत्वकालागि रस्साकस्सी

चार वर्षे कार्यकाल सम्पन्न गरी नेकपा एमाले मोरङको आठौं जिल्ला अधिवेशनको उद्घाटनको पुर्व सन्ध्यामा पुग्दा अध्यक्ष महेश रेग्मीले पुनः उमेदवार बन्ने चाहाना अगाडी सारेका छन् ।
विगतदेखिकै गुटगत पहिचानका आधारमा यस पटक पनि नेकपा एमाले मोरङको अधिवेशनमा प्रतिष्पर्धा हुने देखिएको छ । नेकपा एमालेले पछिल्लो समय सर्वसम्मत नेतृत्व चयनको अभ्यास अघि बढाएको भएपनि मोरङमा त्यसको सम्भावना झिनो बन्दै गएको छ । मनाङ, मुस्ताङ, पाल्पा लगायतका जिल्लामा सर्वसम्मतरुपमा जिल्ला नेतृत्व चयन गरेको एमालेले बाग्लुङमा त्यो विधिलाई निरन्तरता दिन सकेन । मोरङमा पनि करिव निर्वाचन निश्चित भइसकेको छ ।
शनिवार अबेरसम्म बसेको दुवै गुटका नेताहरुको छुट्टाछुट्टै बैठकबाट दुवै प्यानका पदाधिकारीहरुको करिव टुंगो लगाएको छ । अध्यक्ष रेग्मीको टिमबाट सत्यनारायण चौधरी उपाध्यक्ष, विद्या चाम्लिङ सचिवको टुंगो भइसकेको छ । यस्तै राजकुमार ओझालाई सहसचिवमा अगाडी सारिएको छ । सचिवका सशक्त दावेदार मानिएका रुपेश खतिवडालाई सहसचिवमा मनाउने प्रयास भइरहेको छ यस्तो अवस्थामा ओझालाई मिलाउन कठिन पर्ने देखिएको छ । खतिवडाले सचिव नभए उमेदवार नबन्ने बताइरहेका छन् । उनले नमानेको खण्डमा अरु कसैलाई सहसचिव बनाएर अघि बढ्ने निष्कर्षमा रेग्मीको टिम पुगेको बताइएको छ ।
यता आगामी जिल्ला अधिवेशनमा सशक्त रुपमा प्रस्तुत हुँदै अध्यक्ष पदकालागि दावेदारी प्रस्तुत गरेका पूर्व अध्यक्ष विनोद ढकालले पनि तयारीलाई तिब्रता दिएका छन् । शनिवार नै बसेको ढकाल पक्षका नेताहरुको बैठकले उपाध्यक्षमा सांसद तथा वर्तमान सचिव ऋषिकेश पोखरेल, सचिवमा रामलाल साह र सहसचिवमा धना तामाङलाई अगाडी सारेको छ । त्यस विषयमा ढकाल पक्षमा सहमति जुटेको छ । यद्यपी एक कार्यकाल पोखरेले सचिव दोहो¥याएर साहलाई उपाध्यक्ष बनाउने विषयमा पनि छलफल जारी रहेको बताइएको छ ।
अहिलेसम्मको तयारी र सबै ८ सय ८२ जना प्रतिनिधिहरु निर्वाचित भइसकेको अवस्थामा दुवै उमेदवार सशक्त नै देखिएका छन् । दुवै पक्षले जितकालागि आ–आफ्ना दावी प्रस्तुत गरेपनि रेग्मी समूहलाई विगतको जस्तो सहज जित हासिल गर्ने आधारहरु भने भत्किएका छन् । सातौं जिल्ला अधिवेशनमा सशक्त उपस्थिती रहेको उर्लावारीमा अहिले विनोद ढकाल पक्षको भारी उपस्थिती भएको छ भने लेटाङ र कोशी हरैंचामा पनि बलियो उपस्थिती जनाएको उनीहरुको दावी छ ।
सुन्दर दुलारीमा करिव करिव एकलौटी जस्तै प्रतिनिधि ल्याएपछि ढकाल पक्ष अघिल्लो पटकको तुलनामा बलियो भएको अनुभूति गरिरहेको छ । निर्वाचन क्षेत्र नम्वर ९ र ८ रेग्मीको आधार इलाका जस्तै रहेकोमा त्यसलाई भत्काउन सफल भएको उनीहरुको दावी छ । त्यस बाहेक विराटनगर आसपासका निर्वाचन क्षेत्र नम्वर ५, ६ र ७ मा ढकाल पक्षको उपस्थिती मजबुत रहेको बताइन्छ । यस्तै १ नम्वर निर्वाचन क्षेत्रको उपस्थितीले गर्दा निर्वाचन जित्ने बलियो आधार रहेको ढकाल पक्षले दावी गरेको छ ।
रेग्मी पक्षले भने अघिल्लो अधिवेशनको तुलनामा केही कम प्रतिनिधि आएपनि निर्वाचन जित्न गाह्रो नभएको दावी गरेको छ । समावेशी उमेदवारी अगाडी सारेको भन्दै जितको आधार प्रस्तुत गरेको छ । त्यस बाहेक दोश्रो संविधान सभा निर्वाचनमा सुन्य सिट रहेको पार्टीलाई तीन सिट जिताउन सफल भएको र पार्टीलाई गुटबन्दीबाट मुक्त बनाउँदै एकढिक्का बनाएर समग्र जिल्लाको विकास र नेतृत्वमा अग्रणी भूमिका खेलेको दावी रेग्मी पक्षले गरेको छ ।
इमान्दारीता, निष्ठा र आदर्शको राजनीतिले नै बिजय प्राप्त हुने अपेक्षा उनीहरुले गरेका छन् । आम कार्यकर्ताहरु भने पार्टी आदर्श आवश्यक भएपनि नेतृत्व चलायमान र सहज हुनु पर्ने पक्षमा देखिएका छन् ।