धरान/मगर जातिले शनिबार सारल्हेस (माघे सङ्क्रान्ति) धुमधामका साथ सामूहिक रुपमा मनाएको छ ।केही वर्षयता धरान–१० स्थित सैनिक भवनमा सामूहिकरूपमा यो पर्व मनाउन थालिएको हो ।

पूmल फुलेको वर्षको रूपमा मनाउने गरिएको यो पर्व धरानमा २०६२ सालदेखि सामूहिकरूपमा मनाउन थालिएको हो । यसलाई मगर सङ्घले पहिचानको आन्दोलनको रूपमा समेत लिने गरेको छ ।नेपाल मगर सङ्घको धरान नगर समितिको आयोजनामा भएको कार्यक्रममा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए ।

कार्यक्रमको उद्घाटन काठमाडौँको जितबहादुर सिञ्जाली प्रतिष्ठानका अध्यक्ष सञ्जोग मगरले गरे । सो अवसरमा म्युजिकल चेयर, घैला फुटाउने र टोपी लुकाउने प्रतियोगिताहरू गराइएको नगर अध्यक्ष चित्रराज थापा मगरले बताए ।

मगर जातिको जातीय नाच कौडा नृत्यसमेत प्रस्तुत गरिएको थियो । सूर्योदय विद्या विहारका अध्यक्ष प्रदीप थापा मगरले निर्माण हुन लागेको मगर बौद्ध गुम्बाका लागि ५० हजार रुपैयाँ सहयोग प्रदान गरे ।