सङ्खुवासभा/छ वर्षअघि निर्माण शुरु गरिएको जिल्लाको उत्तरी गाविस ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रको निर्माणाधीन भवन अलपत्र परेको छ । निर्माण शुरु गरिएको दुई वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भए पनि ठेकेदारको लापर्वाहीले भवन अलपत्र परेको हो ।
४ करोड रुपैयाँभन्दा बढीको लागतमा २०६६ सालमा शुरु गरिएको २६ कोठे भवन ढलान गरिए पनि अभैm करीब १० प्रतिशत काम बाँकी राखेर ठेकेदार फरार भएको स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष देवी राईले जानकारी दिए । भवन निर्माणको ठेक्का कुन्सालिङ कन्स्ट्रक्सन प्रालीले पाएको थियो । निर्माणको क्रममा जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि कम्पनीका सञ्चालक थोरै काम गर्दै भाग्दै गरेको अध्यक्ष राईले बताए ।
आपूmले यसअघि दुईपटक उजुरी दिइसकेको उनले बताए । उजुरी परेपछि केही समय काम गरेर ठेकेदार वेपत्ता हुने गरेको राईको भनाइ छ । ‘गत वर्षको मङ्सिरमा उजुरी दिएपछि गएको असार मसान्तभित्र निर्माण कार्य सम्पन्न गरेर हस्तान्तरण गर्ने कुरा भएको थियो’, अध्यक्ष राईले भने, ‘काम छोडेर ठेकेदार फेरि हिँड्यो ।’ अलपत्र भवन तत्कालीन प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीलाई समेत देखाइएको भए पनि हालसम्म निर्माण कार्य सकिने छाँटकाँट नभएकोमा स्थानीय दुःखी भएको स्वास्थ्य केन्द्रका पूर्वअध्यक्ष कैलाशकुमार राईले बताए । ‘दुई वर्षपहिले ताम्कु आउनुभएको बेला सिडिओ सापलाई पनि भवन देखायौँ, उहाँको पनि केही लागेनछ ।’ राईले भने । यसपटक आफ्नै जिल्लाका स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ रहेकाले केही पहल हुनेमा आपूmहरु विश्वस्त रहेको समेत उनले बताए । शहरी विकास डिभिजन कार्यालयअन्तर्गत बजेट आएकोले यसबारे कुरा गर्न धनकुटास्थित डिभिजन कार्यालयमा आपूm दुईपटक पुगे पनि कुनै सुनुवाइ नभएको गुनासो उनले गरे ।
निर्माणाधीन भवन सम्पन्न नभएपछि पुरानै भवनबाट बिरामीहरूले स्वास्थ्य सेवा लिइरहेका छन् । एक डाक्टरसहितको दरबन्दी भएको स्वास्थ्य केन्द्रमा पर्याप्त भौतिक संरचना नहुँदा सेवा प्रवाहमा समस्या रहेको केन्द्रका डाक्टर मनिष प्रजापतिले बताए । स्वास्थ्य परीक्षण कक्ष, बहिरङ्ग सेवा, फार्मेसीलगायतका सेवाहरू सानो भवनभित्रै दिनुपर्ने हुँदा समस्या भएको डाक्टर प्रजापतिले जनाए । बिरामी परीक्षणका उपकरणहरू थप्न र शैय्या राख्न पनि ठूलो भवन आवश्यक रहेको उनको भनाइ छ । राज्यमन्त्री गुरुङले स्वास्थ्य केन्द्रलाई १५ शैय्याको बनाउने भनेकाले पनि निर्माणाधीन भवन तत्काल सम्पन्न गर्नुपर्ने उनी बताउँछन् ।