धरान/उन्नाइसौं अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकपको प्रवद्र्धन गर्न बूढासुब्बा प्रमोसन कप हुने भएको छ । प्रमोसन कपमा धरानका व्यावसायिक सङ्घसंस्थाका आठवटा टीम सहभागी हुने भएका छन् ।आयोजक धरान फुटवल क्लबका अध्यक्ष एवं एन्फाका केन्द्रीय उपाध्यक्ष किशोर राईका अनुसार प्रमोसन कप माघ २० देखि २५ गतेसम्म हुनेछ ।

होटल एशोसिएनसन अफ धरान, बैङ्कर्स, सुनसरी उद्योग वाणिज्य सङ्घ, यातायात मजदुर, मिडिया, हार्डवेयर व्यवसायी, प्याब्सन र एन व्याब्सनको टिमबीच प्रमोसन कप गर्न लागिएको हो ।जसमा विजेताले १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५ हजार रुपैयाँसहित ट्रफी पाउने अध्यक्ष राईले बताए । प्रमोसनलाई व्यवस्थापन गर्नको लागि महासचिव प्रताप तामाङको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।

बूढासुब्बा गोल्डकपको प्रचारप्रसार गर्न यसपटक धरानको भानुचौकमा साङ्गीतिक कन्सर्ट राख्ने तयारी समेत भइरहेको छ । कन्सर्टमा धरानका स्थानीय कलाकार तथा गायकहरुले प्रस्तुती दिनेछन् ।बूढासुब्बा गोल्डकप आउँदो फागुन पहिलो साताबाट गर्ने तयारी क्लबले गरिरहेको छ । सिजनको अन्त्यमा गरिने यो प्रतियोगितामा देशविदेशका गरी १० देखि १२ वटा टिमले सहभागिता जनाउँदै आएका छन् । बूढासुब्बाको तयारीसँगै यसको प्रवद्र्धन गर्नको लागि प्रमोसन कपको तयारी भइरहेको क्लबले जनाएको छ ।

क्षेत्रीय रङ्गशाला तयार नभएपछि यसपटक पनि धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमै प्रतियोगिता हुने क्लबले जनाएको छ ।