विराटनगर/ एलपी ग्यास विक्रेता संघ मोरङले ग्याँस बिक्रीमा कमिशन वृद्धिको माग गरेको छ । संघले विराटनगरमा पत्रकार सम्मेलन गरी प्रति सिलिण्डरमा ५ प्रतिशत कमिशन वृद्धि गर्न माग गरेको हो । पटक पटक ग्याँसको मूल्य वृद्धि भएको तथा पेट्रोलियम विक्रेताहरुले डिजेल तथा पेट्रोलमा कमिशन बढेको भएपनि ग्याँस विक्रेताहरुले भने लामो समयदेखि एउटै कमिशनमा काम गर्नु परिरहेको गुनासो गरेका थिए । ग्यास विक्रेता संघ मोरङका अध्यक्ष विकाश लालवानीले २ प्रतिशत कमिशनबाट उपभोक्तालाई ग्याँस उपलव्ध गराउन कठिनाई भएकोले प्रतिशत वृद्धि गर्न आवश्यक रहेको बताए । ग्यास बिक्रेताहरुले प्रतिशिलिण्डर ३५ रुपैंया कमिशन पाउने गरेका छन् । अहिलेको महंगी वृद्धिको आधारमा कमिशन अत्यन्त कम भएको उनीहरुको गुनासो थियो । अहिले पाउँदै आएको कमिशनको आधारमा व्यवसाय संचालन गर्न गाह्रो हुने र घर घाडा नै तिर्न नपुग्ने भएकोले वाध्य भएर कमिशन बढाउन माग गरेको उनले बताए । संघले ग्यासमा लगाउदै आएको भ्याट समेत हटाउन आग्रह गरेको छ । संघका सचिव सरलराज पोखरेलले कमिशन वृद्धिका लागी सरकारसंग ग्यास विक्रेतासंघको छलफल भइरहेको भन्दै यदी सरकार सहमत नभए माघ १९ पछी आन्दोलनमा जाने वताए ।