विराटनगर/ विराटनगरमा पहिलो पटक विश्वविद्यालय स्तरिय दुई दिने शैक्षिक मेला २०१७ शुक्रबारदेखी सुरु हुँदैछ । विश्व विद्यालयले सञ्चालनमा ल्याएका पाठ्यक्रम र शैक्षिक कार्यक्रमहरुका विषयमा जानकारी गराउने उद्देश्यले पूर्वाञ्चल विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुले विराटनगरमा पहिलो पटक विश्वविद्यालय स्तरीय पूर्वाञ्चल विश्वविद्यालय एजुकेशन फेयरको आयोजना गर्न लागेका हुन् ।

विराटनगरस्थित आदशर्श उच्च माविको प्राङ्गणमा माघ १४ र १५ गते मेला सञ्चालन हुने जनाएको हो । मेलामा इन्जिनियरिङ, हेल्थ साइन्स, व्यवस्थापन, होटल मेनेजमेन्ट, मानविकि र कानुन संकायका गरी जम्मा ४० वटा स्टलहरु प्रदर्शनमा राखिने मेला संयोजक गोपीकृष्ण न्यौपानेले जानकारी दिए ।

प्रत्येक स्टलबाट ३० हजार देखि ५० हजारसम्म शुल्क लिने आयोजकले जनाएको छ । विश्वविद्यालयस्तरको शैक्षिक मेला विराटनगरमा पहिलो पटक हुन लागेको भएपनि पूर्वाञ्चल विश्वविद्यालयले यस अघिपनि काठमाडौमा गरिसकेको जनाइएको छ । १२ कक्षा उत्तीर्ण गरेर बसेका विद्यार्थीहरु लक्षित गरेर मेलाको आयोजना गरिएको भएपनि अन्य विभिन्न समूहका विद्यार्थी तथा अभिभावकसमेत गरी करिब १० हजारले मेलाको अवलोकन गर्ने जनाइएको छ ।