उदयपुर / उदयपुरकी एक महिलाले मिर्गौला खराब भएर समस्यामा रहेका चार वर्षे छोराको उपचारमा सहयोग गरिदिन आग्रह गरेकी छिन् । त्रियुगा नगरपालिका–३ की लीला बिकका चार वर्षे छोरा किसन बिक मिर्गौला खराब भएको छ । तर आर्थिक अभावमा उनको उपचार हुन सकेको छैन । लीलामायले मिर्गौला रोगी छोरा बचाई दिन सबैसँग आग्रह गरेकी हुन्। ‘ज्याला मजदुर गरेर दुई छाक टार्ने मेरो दैनिकीले छोरालाई उपचार गर्न सकिन’, जिल्ला बाल हेल्प लाइनको कार्यालयमा निवेदन दिँदै उनले भनिन्, ‘दैव पनि ममाथि मात्र खनियो, गएको वर्ष श्रीमान बित्नुभयो, अहिले छोरालाई मिर्गौला रोग लाग्यो । उपचार गर्ने पैसा छैन ।’ उनको सम्पत्ति भनेको पाँच धुर जग्गामा बनेको घर मात्रै हो । त्यो जग्गा पनि ऐलानी रहेको उनले बताइन् । उनले छोराको उपचारमा सहयोग गरिदिन सरकार तथा गैरसरकारी निकायसहित सबैसँग आग्रह गरेकी छन् । ‘सहयोगी हातहरु पाए छोरा बचाउने थिएँ’, लीलाले भनिन्, ‘साथमा भएका दुई छोरालाई पढाउने धोको पनि छ ।’ गएको भदौमा छोराको पेट फुल्न थालेपछि जिल्ला अस्पताल उदयपुर उपचारको लैजाँदा मुटुको रोग भनेर शहीद गंगालाल हृदय रोग निवारण केन्द्रमा रिफर गरियो । त्यहाँ लगेपछि मुटु रोग नभइ मिर्गौलाको समस्या रहेको डाक्टरले बताएका थिए । आर्थिक अवस्था कमजोर भएका कारण मिर्गौला रोगको उपचार गर्न नसकेको उनले बताइन् । त्यसपछि छोरालाई विराटनगरस्थित नोबेल मेडिकल कलेज लगेर उपचार गरेको र त्यहाँ ४६ हजार रुपैयाँ खर्च भएको उनले बताइन् । तर निको नभएकाले सहयोगको हार गुहार गरेको लीलाले बताइन् । जिल्लास्थित सरकारी तथा गैरसरकारी संस्थाले आर्थिक सहयोग जुटाउने पहल शुरु गरेको नेस्पेक उदयपुरकी अध्यक्ष गंगा राईले बताइन् । ‘आर्थिक अवस्था कमजोर भएकाले बाल हेल्पलाइनमा निवेदना आयो’, गंगाले भनिन्, ‘तीन सदस्य रहेको समिति बनाएर आर्थिक सङ्कलनमा जुटेका छौं ।’ लीलाका जेठो छोरा १० वर्षका छन् । – उज्यालो