राजविराज–५ स्थित लक्ष्मी इग्लिस बोर्डिंग स्कुलको आँगनमा आज, १८ फागुन बिहान फेला परेको सकेट बम सेनाले निष्क्रिय पारेको छ ।
हिजो १७ फागुनमा पनि राजविराज ९ स्थित पिस जोन सेकेण्डरी स्कुलमा बम फेला परेको थियो ।
सप्तरीको राजविराजका विद्यालयहरुमा लगातार बम फेला पर्न थालेको छ । यसअघि ११ मंसीरमा जिल्ला प्रशासन कार्यालय प्रांगणमा र ७ माघमा राजविराज १ निवासी हनुमान दुगडको घर अगाडि बम राखेको थियो ।
जयकृष्ण गोइत नेतृत्वको समूहले उक्त बमहरु राखेको दाबी गरेको छ ।
बमसँगै गोइत समूहको पर्चा पनि फेला परेको छ भने गोइतले विज्ञप्ति जारी गर्दै उक्त बम आफू नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले राखेको दाबी गरेका छन् ।
गत २३ मंसीर मा ‘तराई बन्द’ को आह्वान गर्दा बन्दको अवज्ञा गरेकाले कार्वाही स्वरुप बम राखिएको गोइतले दाबी गरे पनि स्थानीय तहको निर्वाचन घोषणा भएपछि लगातार बम भेटिंदा निर्वाचन भाँड्ने योजना स्वरुप बम राखिएको हुनसक्ने स्थानीय बताउँछन् ।
विद्यालयमै लगातार बम फेला पर्न थालेपछि विद्यार्थी, शिक्षक र अभिभावक त्रसित बनेका छन् ।
विद्यालयमा बम राखेर आतंक फैलाउँदा केही हासिल नहुने भन्दै प्याव्सनका केन्द्रीय उपाध्यक्ष अनिल कुमार झाले यसको भत्र्सना गरेका छन् ।
उनले बालबालिका खेल्ने र पढ्ने ठाउँमा आगामी दिनमा यस्ता काम नगर्न, नगराउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।