काठमाडौं/ नेपाल विद्युत् प्राधिकरणले मुलुकबाट लोडसेडिङ पूर्णरुपमा हटेको दाबी गरेको छ ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आगामी वर्षदेखि बिजुली निर्यात गर्नसक्ने अवस्थामा पुग्ने बताए । आगामी वैशाख महिनादेखि उद्योगहरुमा २४ सै घन्टा विद्युत आपूर्ति हुने उनले बताए । अहिले उद्योगमा साँझ ४ घन्टाबाहेक देशको कुनैपनि भेगमा लोडसेडिङ नरहेको उनले बताए ।

माथिल्लो तामाकोसी आयोजनासहित अरु आयोजनाबाट विद्युत् उत्पादन भइ मागभन्दा बढी विद्युत् उत्पादन हुने उनले बताए । पत्रकार सम्मेलनमा घिसिङले अर्को वर्षायाममा नेपालले बिजुली निर्यात गर्ने महत्वाकांक्षी योजना पनि सार्वजनिक गरे । भारतबाट आयात हुनेबाहेक स्वदेशी आयोजनाबाटसमेत आगामी वर्ष २०० मेगावाट बराबर विद्युत् थप हुने उनले बताए । बिजुलीको अत्याधिक माग हुने र उत्पादन कम हुने समयसमेत पार गरिसकेकाले अब लोडसेडिङ नहुने र अर्को वर्ष बिजुली निर्यात गर्नसक्ने उनको भनाइ थियो । उनले गत वर्षकोभन्दा यो वर्ष भारतबाट आयातित विद्युत्को अंश घटेको दाबी पनि गरे ।

गत वर्ष भारतबाट कुल विद्युत् आपूर्तिको ३५ प्रतिशत हिस्सा आयात भएको र यस वर्ष ३३ प्रतिशतमात्रै रहेको उनले बताए ।