आँपगाछी / आफ्नो परिवारलाई सुखी राख्ने उद्देश्यले २५ वर्षअघि विदेश लागेका इटहरी–१ आँपगाछीका निरकुमार राईको सपना चकनाचुर भएको छ । श्रीमती जरिना राई पतिले कमाएको लाखौं रुपैयाँसहित विभिन्न व्यक्ति तथा सहकारीबाट लिएको ऋण कुम्ल्याएर भागेपछि उनको सपना चकनाचुर भएको हो ।

रोजगारीको सिलसिलामा २५ वर्षअघि साउदी अरब पुगेका राई घर आउँदै/जाँदै गर्थे । विदेशको भूमिमा ज्यान जोखिममा राखेर फाेरमेनको काम गर्दैआएका उनले दुई वर्षअघि घुँडा र दाहिने खुट्टा भाँच्चिएपछि घुँडा नै फेरिएको र भर्खरै घर आउँदा श्रीमती सम्पर्कविहीन भएर भागेको दुखेसो गरे । परिवार सम्झेर दिन–रात नभनी पसिना चुहाए । श्रीमती र छोराहरुलाई सुखमा नै राख्दै आएको बताउने उनले श्रीमतीले आफ्नाे सपना चकनाचुर पारेको गुनासो गरे ।

२०७० सालमा घर आएर पुनः विदेश गएको २२ महिनामा कम्पनीमा ठूलो दुर्घटना परेपनि धन्न बाँचेको सुनाउने उनले २७ महिनापछि घर आउँदा करीब एक करोडभन्दा बढी रकम ऋण भएको थाहा पाए । ‘म त्यत्रो ऋण कसरी कमाएर तिरौं, अब म कमाएर तिर्ने अवस्थामा छैन’, उनले दुखेसो पोख्दै भने । दुई छोरा र एक छोरी पढाउँदै आएको बताउने उनले विदेशबाट आएसँगै आमाको काजक्रिया गर्न मूल घरमा आएसँगै श्रीमती सम्पर्कविहीन भएको गुनासो गरे । ‘२५ वर्ष दुःख गरेको सम्पत्ति खरानी भयो, के गर्नु ?’ निरकुमारले भने । लठ्ठीको सहारामा हिँडेका उनले आपूm अहिले मर्नु न बाँच्नुको अवस्थामा रहेको भन्दै विदेश गएर २२ महिनामा २० लाख रुपैयाँ पठाए पनि उल्टै लाखौं रुपैयाँ ऋण देखाएको बताए । घरमा तालाचाबी लगाएर श्रीमती भागेको उनको भनाइ थियो । अहिले ऋण तिर्ने हो भने घरको सारा सम्पत्ति बेच्दा पनि नपुग्ने उनी बताउँछन् । ‘सँगै जिउने सँगै मर्ने बाचा गरेर लगनगाँठोमा बाँधिएकी श्रीमतीले यसरी छाडेर जाने कुराको कल्पना पनि गरेको थिइनँ’, राई बताउँछन्’, ‘म जिन्दगीभरको लागि असक्त भएँ, अझै चोट दिएर श्रीमती कहाँ हिँडीहिँडी । मलाई भाग्यले पनि यति धेरै ठग्यो, मैले उसले जथाभावी गरी मोजमस्ती गरेको रकम कसरी तिर्ने ?’