ताप्लेजुङ / ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा दर्शनका लागि अभिभावकसँग आएकी एक बालिकाको सोमबार मृत्यु भएको छ । मन्दिर दर्शन गरी फर्कने क्रममा सोमबार दिउँसो मोरङको पथरी नगरपालिका–१० की दुई वर्षीया सृष्टि भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आफ्ना हजुरबुबा हजुरआमासँग पाथीभरा दर्शनका लागि आएकी भट्टराई पहिले पनि विरामी भइरहने र पाथीभरा दर्शन गरे नीको हुने विश्वासमा पाथीभरा ल्याएको पारिवारिक स्रोतले बताएको छ ।

दर्शनपछि फर्कने क्रममा अचानक बेहोस भएकी सृष्टिलाई उपचारका लागि सदरमुकाम फुङ्लिङमा रहेको तमोर अस्पतालमा ल्याइएको थियो । उपचारका लागि ल्याइएकी भट्टराईलाई चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए । उनको शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी रामबहादुर केसीले बताए ।