बिर्तामोड / करोडौँ रुपैयाँ मूल्यको जग्गा हडप्नका लागि मानव अपहरण गरेको घटनाका अभियुक्तमाथीको कारवाही फितलो बनाउन प्रहरीलाई दवाव आउन थालेको छ । राजनीतिक नेतृत्वको दवावका कारण प्रहरीले फरार अन्यलाई मंगलबारसम्म पक्राउ गर्न सकेको छैन । तर, झापा प्रहरीले कतैबाट दवाव नआएको बताएको छ । ‘घटनामा राष्ट्रिय राजनीतिमा पहुँच राख्ने हस्तीहरु सम्लग्न भएको पाइयो, स्रोत भन्छ, उनीहरु प्रहरीको नेतृत्व फेरेर मुद्दा फितलो बनाउने कसरतमा लागेका छन् ।’ तर, निर्वाचन आचारसंहिता लागू भएका कारण त्यति सजिलो भने छैन ।’ अभियूक्तले लेनदेनमा मिलाउने प्रस्ताव गरेपनि प्रहरीले अस्विकार गरेपछि उनीहरु प्रहरीको नेतृत्व परिवर्तन गर्ने कसरतमा लागेका हुन् । आफूलाई अपहरण गरी बन्धक बनाएको भन्दै चैत २५ गते झापाको अर्जुनधारा–९ का जीवन बिष्टले प्रहरीमा जाहेरी दिएलगत्तै ३ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको थियो । अपहरण काण्डमा मेचीनगर नगरपालिका–८ का भूपू कान्छा नामले चिनिने अजय राई, भद्रपुर–७ का तेजेन्द्र न्यौपाने र भद्रपुर–६ का प्रेम न्यौपाने पक्राउ परेपछि यस विषयले झापामा तरङ्ग ल्याएको हो । घटनामा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएपछि सरकारी कर्मचारी वृत्तमा खैलाबैला मच्चिएको छ । उता उज्यालो यातायातका सञ्चालक र काङ्ग्रेसनिकट आदिबासी जनजाति संघका क्षेत्रीय अध्यक्ष भूपू कान्छा पक्राउ परेदेखि काङ्ग्रेस झापाका नेता–कार्यकर्ता दौडधुपमा व्यस्त छन् । भद्रपुरका व्यवसायी प्रेम न्यौपाने पनि अपहरणको घटनामा पक्राउ परेपछि भद्रपुरबासी आश्चर्यमा परेका छन् । पक्राउ परेका तीनै जनाको सम्लग्नतामा बिष्टको जग्गा जबरजस्ती प्रेमको नाममा सारिएको प्रहरीको भनाई छ । समाचार स्रोतका अनुसार बिष्ट माघ १२ गते अपहरणमा परेका थिए । तर, प्रहरीले उनी कहिले अपहरणमा परेका हुन् र, कहिले मुक्त भए, त्यसबारेमा स्पष्ट पार्न चाहेको छैन । अपहरणपछि बिर्तामोड चोक नजिकैको करोडौँ मूल्य पर्ने जग्गा जबरजस्ती पास गराएको प्रहरीले जनाएको छ । सो जग्गामा हाल एभरेष्ट होटल सञ्चालनमा छ । १६९ र १७० कित्ता नम्बरको उक्त जग्गाको क्षेत्रफल ५ कठ्ठा १६ धुर रहेको छ । सोमबारसम्म आंसिक सुचना दिइरहेको जिल्ला प्रहरी मङ्गलबारदेखि यस विषयमा चुपचाप छ । झापाका प्रहरी प्रमुख एसपी शैलेश थापाले अनुसन्धान जारी रहेको र फरार २ जना अझै पक्राउ नपरेको प्रतिक्रिया दिए । प्रहरीले फरार २ जनाको नाम अझै बताएको छैन । फरार रहेका व्यक्ति उम्कन सक्ने भन्दै प्रहरीले नाम बताउन नचाहेको हो । राजनीतिक नेतृत्वले गृह मन्त्रालयमा दबाब दिएपछि झापा प्रहरी बोल्न छाडेको हो । स्रोत भन्छ, ‘गृहले अनुसन्धान अगाडि नबढाउनु भनिसक्यो ।’ तर, यस विषयमा एसपी थापाले कतैबाट दवाव नआएको बताए । घटनाका विषयमा झापा प्रहरीले अनुसन्धान भने तीव्र पारेको छ । झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले पनि कहिँ कतैबाट दवाव नआएको बताए । यो विषयमा जिल्ला प्रहरीले अनुसन्धान गरिरहेकाले अनुसन्धान टुङ्गिएपछि मात्रै सबै कुरा भन्न सकिने उनले बताए । प्रहरीले सोमबार साँझ मालपोत कार्यालय झापाका मालपोत अधिकृत रुद्र कार्की र खरिदार रुद्र सापकोटासँग घटनाका बारेमा सोधपुछ गरेको थियो । ‘हामीले उहाँहरुलाई पक्राउ गरेका होइनौँ,’ एसपी थापाले भने, ‘सामान्य सोधपुछ गर्न बोलाएका थियौँ, सोधपुछपछि बिदा दियौँ ।’ प्रहरीले मालपोत कार्यालयलाई पनि अनुसन्धानको दायरामा राखेको छ । मालपोत कार्यालय स्रोतका अनुसार उक्त जग्गा गत माघ २० गते पास भएको देखिन्छ । २ करोड ३१ लाख ५० हजार रुपैयाँ मूल्य कायम गरिएको जग्गा पास गर्दा १४ लाख ३३ हजार रुपैयाँ राजश्व बुझाइएको थियो । मालपोत कार्यालयबाट खटिएको टोलीले गरामनीको एउटा होटलमा उक्त जग्गा लिखत पास गरेको स्रोतको दावी छ । मालपोतका अनुसार सरकारी मूल्यभन्दा पनि बढी कायम गरी उक्त जग्गा पास गरिएको छ । सरकारी मूल्यअनुसार जग्गाको मूल्य ७८ देखि ७९ लाख रुपैयाँ मात्र हुन्छ । जग्गा पास गर्दा लक्ष्मण बस्नेत, शम्भू दाहाल र राजु आचार्य साक्षी बसेको मालपोत कार्यालयले जनाएको छ । लक्ष्मण माओवादी केन्द्रका जिल्लास्तरीय नेता हुन् भने शम्भू सञ्चारकर्मी हुन् ।