भद्रपुर / चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको आर्थिक अनियमितता तथा अवैध काठ दाउरा विक्री प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ । एक हप्ता अघि ब्लाष्ट दैनिकमा समितिका पदाधीकारीको अवैध गतिविधि र आर्थिक विचलन बारे समचार प्रकाश गरेपछि चासो राख्दै क्षेत्रीय कार्यालय इटहरीको टोलीले समितिका सम्पूर्ण कागजात नियन्त्रणमा लिइ अनुसन्धान थालेको हो । अनुसन्धान अधिकृत गणेश अधिकारीको नेतृत्वमा मंगलवार भद्रपुर स्थित वन समितिको कार्यालयमा आएको टोलीले विभिन्न कागजात, आर्थिक विवरण र पछिल्लो पटक बेचिएको काठ दाउरा बारे स्थलगत रुपमा अध्ययन गरि कागजात लगेकोे छ । समितिका अध्यक्ष दुर्गाप्रसाद भट्टराई र सचिव सन्तोष पोखरेलले दाउरा भनि बिक्री गरेको काठ गोलिया भएको पाइएपछि अनुसन्धनमा खटिएको टोलीले वन ऐन विपरित काम भएको मुचुलका बनाएको छ । ऐन अनुसार २ फिट लम्वाइ र २२ इन्चसम्म गोलाई दाउरा हुने स्पष्ट भएपनि ८ फिटसम्म लम्वाइ र ४ फिटसम्म गोलाई भएका मुडाहरु फेलापरेका थिए । नियम विपरित काम भएको उजुरी र खवरका आधारमा आइपुगेको अख्तियारको टोलीका अनुसन्धानअधिकृत निलकण्ठ विश्वकर्माले वन समितिका सम्पूर्ण कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेको जानकारी दिए ।