बारा/ पर्साको रामगढवा स्वास्थ्य चौकीमा कार्यरत अहेव बबिताकुमारी पंडितको श्रीमानलेनै २ लाख रुपैयाँ सुपारी दिएर हत्या भएको खुलेको छ । बबिताकै भाई (काकाका छोरा)ले बर्थडे पार्टी खान बोलाएर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा संलग्न श्रीमान् अमरेन्द्रकुमार पंण्डित र भाई ज्ञानेन्द्रलाई सर्लाहीको सिसौटियाबाट पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।
बाराका एसपी नरेन्द्र उप्रेतीका अनुसार सम्पती र प्रेमसम्बन्धको विवादमा बबिताको हत्या भएको हो । बबिताको एक युवकसँग प्रेमसम्बन्ध थियो । त्यही विषयमा उनको श्रीमानसँग झगडा चल्दै आएको थियो । झगडा बढेपछि सम्बन्धबिच्छेद तथा अंश मुद्दा समेत अदालतमा दायर भएको थियो । अशं मुद्दामा अदालतले बबिताको पक्षमा फैसला गरेपछि अमरेन्द्रले उनको हत्या गरेका हुन् । अमरेन्द्र जनता मावि सिसौटिया, सर्लाहीका शिक्षक हुन् ।
बबितालाई बीरगञ्जमा हत्या गरी शव बोरामा पोका पारेर बाराको प्रसौनी गाउँपालिका स्थित सिंगाहा खोलाको किनारमा फ्याकिंएको अवस्थामा चैत्र १३ गते शव भेटिएको थियो । प्रहरीले चैत्र २६ गते उनका श्रीमान् र काकाका छोरा भाईलाई सर्लाहीबाट पक्राउ गरेको हो । ‘२ लाखको सुपारी दिएर बबिताको हत्या भएको देखिन्छ,’ एसपी उप्रेतीले भने,‘१ लाख रुपैयाँ दिइसकेका थिए भने थप १ लाख हत्यापछि दिने सहमति भएको थियो ।’ हत्या गराउन मृतकका श्रीमानले भाईलाई पेश्की स्वरुप एक लाख रुपैया सेन्चुरी बैंकको खातामा जम्मा गरेका थिए ।
बबिता एक वर्षयता बीरुगंजमै कोठा लिएर बस्दै आएकी थिइन् । श्रीमानले उनलाई जागिर छुटाउन चाहेका थिए । तर, उनले नमानेपछि विवाद बढेको थियो । सुपारी लिएपछि बबिताका काकाका छोरा ज्ञानेन्द्रले आफ्नो जन्मदिनको पार्टी खान भन्दै कोठामा बोालएका थिए । कोठामा बोलाएपछि घाँटी थिचेर हत्या गरेका हुन् । हत्यापछि शव बोरामा प्याक गरी पर्साको सीमा नजिककै बाराको प्रसौनीमा फालेका थिए । हत्यामा ज्ञानेन्द्रका साथीहरुको समेत संलग्नता रहेको प्रहरीले जनँएको छ । बबिताले हत्या हुनु चारदिन अघि आफु असुरक्षित रहेको भन्दै शान्ति सुरक्षा पाउँ भनि निवेदन समेत दिएकी थिइन् ।