धनकुटा/ नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले तामाङले मागेर ताम्सालिङ नपाईने भन्दै अन्तिम बिद्रोहको लागि सबै तामाङलाई तयारी अवस्थामा रहन आग्रह गरेका छन् ।

ताम्सालिङको मुद्दा राजनीतिक मुद्दा भएकोले यो सामाजिक क्रान्तिबाट प्राप्ती नहुने उनको दाबी थियो । निकट समयमा तामाङले निर्णायक राजनीतिक क्रान्ति गर्नुपर्ने बताउँदै गोलेले भावुक मुद्रामा भने–“सक्नेले जन देउ, जन दिनु नसक्नेले धन देउ, जन र धन दुवै दिनु नसक्नेले मन त देउ ।”

बुधवार काठमाडौंमा आयोजित “ताम्सालिङ आन्दोलन र स्थानीय तहको निर्बाचन विषयक” अन्तरक्रिया कार्यक्रममा गोलेले यस्तो आग्रह गरेका हुन् । तामाङ जनताले समुदायको क्रान्तिलाई उठाउन नसक्दा राज्यले तामाङलाई नचिनेको उनको भनाई थियो । ताम्सालिङ माटोको लडाइँ भएको हुँदा यो नहार्ने पनि उनले ठोकुवा गरेका छन् ।

घेदुङले आसन्न स्थानीय तहको निर्बाचनलाई आफ्नो मुद्दा स्थापित गर्ने अवसरको रुपमा उपयोग गर्ने रणनीति लिएको छ । बिगतमा ताम्सालिङ संघर्ष समिति र आदिवासी जनजातिसँग भएको सहमतिलाई कार्यान्वयन नगरी सरकारले निर्बाचन घोषणा गरेको हुँदा घेदुङ ताम्सालिङ प्राप्तीको लागि शक्ति निर्माण गर्दै अघि बढ्ने नीति लिएको केन्द्रीय अध्यक्ष गोलेले बताएका छन् ।

यो चुनावमा हामी हाम्रो मुद्दालाई जनता माझ लान्छौ, गोलेले अगाडि भने– राजनीतिक दल, उमेदवार र तामाङ जनतालाई अझ सचेत र प्रतिवद्ध बनाएर अघि बढ्छौ । उनले ढिलोचाँडो एउटा सशक्त तामाङ बिद्रोह भएपछि मात्रै ताम्सालिङको छिनोफानो हुने दाबी गरेका छन् ।

यो संविधान कुनै राजा, महाराजाले जारी गरेको नभई जनताको रगतको छिटा लागेर बनेको हुँदा जनतामा मान्ने या नमान्ने अधिकार निहीत रहेको गोलेको जिकिर थियो । उत्पीडित जनताले निर्बाचनबाट केही जित्न नसक्ने भन्दै गोलेले अहिलेसम्मको प्राप्त उपलब्धि सबै आन्दोलन र संघर्षको परिणाम भएको बताएका छन् ।

हाम्रो माग र मुद्दालाई थाँती राखेर सरकारले निर्बाचन घोषणा गरेको प्रति आपत्ती जनाउँदै गोलेले यो निर्बाचन तामाङको लागि नखाउँ भने दिनभरिको शिकार, खाउँभने कान्छाबाउको अनुहार जस्तो भएको बताए ।

कार्यक्रममा ताम्सालिङ आन्दोलन सम्बन्धमा घेदुङका सल्लाहकार डा. मुक्तसिंह लामा तामाङ र स्थानीय तहको निर्बाचन सम्बन्धमा प्रमूख सल्लाहकार कुमार योन्जनले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रमाथि तामाङ अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष महेन्द्रजंग तामाङ, सांसद यशोदा लामा मोक्तान, पूर्व मन्त्री हितबहादुर तामाङ, ताम्सालिङ संघर्ष समितिका अध्यक्ष जय गोले, सल्लाहकार प्रदिप बोम्जन, आदिवासी जनजाति पार्टीका अध्यक्ष बुद्धराज स्याङ्तान, हङकङ घेदुङका अध्यक्ष सरस्वती घिसिङ र इजरायल घेदुङका पूर्व अध्यक्ष सुन्दर योन्जनले सुझाव प्रस्तुत गरेका थिए ।

यसैगरी कार्यक्रममा घेदुङका उपाध्यक्ष अजितमान तामाङ, ३ नं. प्रदेश अध्यक्ष सोमबले तामाङ, उपाध्यक्ष जितबहादुर तामाङ, केन्द्रीय सदस्य हिरालाल तामाङ (भक्तपुर), केन्द्रीय सदस्य सञ्जिव लामा (बाँके), केन्द्रीय सदस्य सुनिता ठोकर (नुवाकोट), केन्द्रीय सदस्य सुर्यमान तामाङ (काठमाडौं), केन्द्रीय सदस्य श्यामकुमारी तामाङ (धनुषा), धनकुटा घेदुङका सचिव सन्तबीर मोक्तान, मोरङ घेदुङका उपाध्यक्ष चन्द्र घिसिङ, रौतहट घेदुङका अध्यक्ष रामबहादुर ग्लान, ललितपुर घेदुङका अध्यक्ष मानबहादुर योन्जन, सर्लाही घेदुङका अध्यक्ष हिराकाजी लामा, नुवाकोट घेदुङका अध्यक्ष जयमान वाईबा, मकवानपुर घेदुङका अध्यक्ष लिलाबहादुर घलान, नवलपरासी घेदुङका अध्यक्ष बाबुलाल लुङ्बा, खोटाङ घेदुङका अध्यक्ष जेबि पाख्रिन, पर्सा घेदुङका धनबहादुर तामाङ र पाँचथर घेदुङका अध्यक्ष जंग योन्जन तामाङले बोलेका थिए ।

घेदुङका अध्यक्ष मोहन गोले तामाङको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रमको सञ्चालन घेदुङका सचिव रामकृष्ण ब्लोन तामाङले गरेका थिए भने स्वागत मन्तब्य महासचिव बाबु घिसिङ तामाङले गरेका थिए ।