चितवन/ ठूल्ठूला जेब्रा, अर्नालगायत वन्यजन्तु गोहीले सजिलै मारेका घटना हामीले टेलिभिजनबाट देख्छौँ । गोहीले समाइसकेपछि फुत्किने मौका कमै हुन्छ । तर चितवनमा गोहीको मुखमा पुगेका मामुली बालक फुत्किए भन्दा तपाईंलाई आश्चर्य लाग्ला । यो यथार्थ हो । गोहीले समाएका बालक सकुशल फिर्ता भए । अहिले उनी उपचाररत छन् ।
गत चैत २५ गते भरतपुर महानगर–२३ जगतपुर घैलाघारीका १२ वर्षीय बालक अर्जुन हरिजन सदाझँै चितवन निकुञ्जको छेवैमा रहेको राप्ती नदीमा पौडी खेल्न गए । सधैँ पौडी खेल्ने ठाउँमा त्यो दिन पनि साथीसँगै पुगे । अपराह्न करिब ४ बज्दै थियो । एक्कासि हाम्फालेका अर्जुन गोहीको पिठ्यूँमा परेछन् । लेउले ढाकेर बसेको थियो गोही । लेउ नै सम्झेँ उनले । ‘म हामफालेँ, गोहीको माथि परेछ, लेउ जस्तै बनेर बसेको रहेछ, म हाम्फालेपछि अनि झ््याप्पै हात समायो,’ सम्झँदै अर्जुन भन्छन् । देब्रे हातमा समाएर तीनचोटि पछार्यो । त्यसलगत्तै पानीमुनि लग्यो । सामान्यतया गोहीले समाइसकेपछि पानीमुनि लगेर सास फेर्न नदिई मार्छ । ‘यो हात त सबै पड्यापुडुक भा छ,’ गोहीले समाएको देब्रेहात देखाउँदै उनले भने । यति गर्दा पनि बालकको होस भने गएको थिएन । गोहीले आफैँलाई गरेको आक्रमण हेर्दै थिए । फुस्कने कोसिस उनको व्यर्थ थियो । ‘मैले साथीहरुलाई एउटा हातले बोलाएँ, धन्न उनीहरु आए, पानीमुनि नै साथीले गोहीको आँखामा हाने, अनि भाग्यो,’ अस्पताल श्ययाबाट खुसीका साथ उनले घटनाबारे बेलिविस्तार लगाए । गोहीको आँखामा लाग्ने बित्तिकै भाग्दोरहेछ भन्ने उनले त्यो दिनबाट चाल पाए । साथीहरुले पानीभित्रै गएर गोहीलाई डन्ठाले हानेको हेरेका अर्जुन भन्छन्, ‘म बेहोस नै भएको थिइनँ, हेरिराथेँ, अब ज्यान बचेन भन्ने लाग्याथ्यो । एउटा हात त गोहीले छाडेकै थिएन । टाउको समाउने प्रयास गर्दै थियो । टाउको समायो भने मार्छ भन्ने लागेर मैले अर्को हातले रोक्न खोज्दा त्यो हात पनि टोक्यो ।’ भुँडीमा प्वाल पारेको छ । छातीका विभिन्न ठाउँमा गोहीले टोकेको छ । खुट्टाभरि घाउ नै घाउ छ । देब्रे हात तीन ठाउँमा भाँचिएको छ । पाखुरा र नाडीमा पत्ता राखेको छ । गोहीको मुखबाट फुत्किएर नयाँ जीवन पाएका अर्जुन खुसी हुँदै भन्छन्, ‘ठीकै भाछ सञ्चो हुन लाछ अब घर जाने ।’ अब कहिल्यै पौडी खेल्न नजाने उनी बताउँछन् ।